राजनीति

नेकपा स्थायी कमिटी बैठकमा बोल्ने पाँचमध्ये चार जनाले मागे प्रधानमन्त्रीको राजीनामा

हिमालय टिभी
२०७७ असार १७ गते १५:५०
नेकपा स्थायी कमिटी बैठकमा बोल्ने पाँचमध्ये चार जनाले मागे प्रधानमन्त्रीको राजीनामा

१७ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज बोल्ने पाँचमध्ये चार जनाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन ।

पर्यटनमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईबाहेक अरु चार जनाले राजीनामा मागेका हुन् । भट्टराईले नेताहरुका बीचमा छलफल गरेर निकास निकाल्नुपर्ने मध्यमार्गी बाटो अगाडि सार्नुभएको छ भने अरुले पार्टी र सरकार चलाउन अयोग्य भएकाले ओलीले छाड्नुपर्ने मत राखेका छन् ।

लिलामणि पोखरेल, मात्रिकाप्रसाद यादव र नन्दकुमार प्रसाइँले ओलीले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । बैठकमा निकै आक्रोशित मात्रिका प्रसाद यादवले ओलीले पार्टी नभई गुट चलाएको टिप्पणी गरेको स्रोतले जनाएको छ ।

अर्का स्थायी कमिटी सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीमा सांस्कृतिक, वैचारिक र कूटनीतिक विचलन देखिएको बताउनुभएको छ । प्रधानमन्त्रीबाट आत्मालोचना गर्दै सरकार नछाडे पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने खतिवडाको माग छ ।

नेता लिलामणि पोखरेलले ओलीले प्रधानमन्त्री पदकै गरिमा घटाएको टिप्पणी गर्नुभयो । भारतले हटाउन खोज्ने भनेर प्रधानमन्त्री ओलीले जनतामा रहेको सार्वभौमिकताको अपमान गरेको पोखरेलले बताएको स्रोतले जनाएको छ ।

हिजो बोल्ने १८ मध्ये १७ जनाले ओलीको राजिनामा मागेका थिए । हिजो ओली आफै एक्लै आफ्नो पक्षमा हुनुहुन्थ्यो भने आज मन्त्री भट्टराईले मध्यमार्गी कुरा राख्नुभएको छ ।

गम्भीर संकटमा नेकपा
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी गंम्भीर संकटमा परेको बताउनुभएको छ । हिजोको स्थायी कमिटी बैठकपछि पार्टी गम्भीर संकटको दिशातिर भएको भट्टराईले बताउनुभयो ।

एकताबाहेक कुनै विकल्प नरहेको भन्दै भट्टराईले नेताहरुले आफ्नो विगत सम्झिए समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्