राजनीति

निर्वाचन आयोगमा कस्ले गर्‍यो नेकपा एमाले दर्ता ? नेकपामा मच्चियो खैलाबैला

हिमालय टिभी
२०७७ असार १६ गते १८:४९
निर्वाचन आयोगमा कस्ले गर्‍यो नेकपा एमाले दर्ता ? नेकपामा मच्चियो खैलाबैला

१६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट नेकपाको एकता गम्भीर संकटमा परेको छ । भारतसँग मिलेर हटाउन खोजियो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ताका लागि निवेदन परेसँगै नेकपाको एकता संकटमा परेको आंकलन गर्न थालिएको छ ।

यी दुई विषयलाई लिएर नेकपाको स्थायी कमिटी बैठकमा आज चर्को विवाद भएको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायण काजी श्रेष्ठ लगायतका नेताले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन समेत भनेका छन ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले हटाउन खोज्यो भनेर नेपाली सार्वभौमसत्ताको अपमान गरेको भन्दै ओलीको राजिनामा मागेको स्रोतले जनाएको छ । सरकार र पार्टी दुवै संचालन गर्न नसकेकाले ओलीले राजिनामा दिनुपर्ने प्रचण्डको तर्क छ ।

प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो–तपाइँको राजिनामा दिल्लीले होइन मैले मागेको हो । पहिले पनि मागेको थिएँ अहिले पनि भन्छु– दुवै पदबाट राजिनामा दिनुस् ।’

यस्तै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि प्रचण्डको भनाईमा सहमति जनाउँदै पद छोड्न दबाब दिनुभएको छ ।

उहाँहरुले भन्नुभएको छ – हामीले नै तपाइँलाई हटाउन खोजेको हो,अहिले भारतले हटाउन खोज्यो भन्नुको कुनै अर्थ छैन ।’ वरिष्ठ नेता नेपाल र खनालले ओलीलाई तपाईले पार्टी सक्नुभयो त्यसैले अब बहुमत आउने हो कि होईन भन्ने स्थिति समेत बनेको छ सम्म भन्न भ्याउनुभएको छ ।

भारतसँग मिलेर हटाउन खोजेको अभिव्यक्तिबारे पनि नेताहरुले प्रधानमन्त्री ओलीसँग प्रमाण मागेका छन । काल्पनिक कुरा गरेर विषयान्तर गर्न खोजेको भन्दै उनीहरुले ओलीको चर्को आलोचना गरेका छन । तर जवाफमा यसबारे ओलीले कुनै मूर्त जवाफ नदिई, काम गर्दा पनि सहयोग नपाएको गुनासो गर्नुभएको छ ।

स्रोतका अनुसार ओलीले भारतले चलखेल गरेको भन्ने विषयमा भारतीय संचार माध्यममा आएका कुरा र नेताहरुले नेपालमा गरेका कुरा कसरी ठ्याक्कै मिल्छन भन्ने प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्