Main News

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १३२४८ पुगे, थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार १५ गते १६:३५
नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित १३२४८ पुगे, थप एक जनाको मृत्यु

१५ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाब संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजो मात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्न अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सोमबार नेपालमा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो ।

सोमबार विगत दिनभन्दा सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् ।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् । सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

अहिले सडकहरुमा हिडडुल गर्नेहरुको भिड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भिडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *