Main News

आज असार १५ अर्थात दही च्यूरा खाने दिन, राष्ट्रिय धान दिवस मनाइँदै

हिमालय टिभी
२०७७ असार १५ गते ७:३९
आज असार १५ अर्थात दही च्यूरा खाने दिन, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, २०७७ काठमाडौं । आज राष्ट्रिय धान दिवस, देशभरका किसानहरु धान रोपी दही च्यूरा खाएर मनाउँदै छन् ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै धान दिवस मनाइने कृषि विभागले जानकारी दिएको छ । धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताउनुभयो ।

मनसुन समयमै सुरु हुँदा गत वर्षको तुलनामा यो वर्ष रोपाईं दर बढी देखिएको छ । हिजोसम्म २० प्रतिशत रोपाईं सकिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसानले शक्तिप्राप्तिका लागि दही च्यूरा खाने चलन छ ।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *