Main News

चट्याङबाट ८० जनाको ज्यान जाने गरेको तथ्याङ्क, यस्ता उपाय अपनाउँदा बच्न सकिन्छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १२ गते १६:०४
चट्याङबाट ८० जनाको ज्यान जाने गरेको तथ्याङ्क, यस्ता उपाय अपनाउँदा बच्न सकिन्छ (भिडियोसहित)

१२ असार, २०७७ काठमाडौं । अहिले देश कोरोनासँगै चट्याङ्गको त्रासमा छ । हिजो एकै दिन देशभरमा गरेर चट्याङ्ग लागेर ७ जनाको मृत्यु भयो । अस्ति २ जनाले ज्यान गुमाए । नेपालसँगै सीमा जोडिएको भारतको बिहारमा हिजो ८३ जना र उत्तरमा प्रदेशमा २४ जनाको ज्यान गयो । यो तथ्यांकले चट्याङ्ग कोरोना भन्दा पनि खतरनाक छ भन्ने पुष्टि हुन्छ ।

हरेक वर्ष चट्याङ लागेर मान्छेको मृत्यु हुन्छ । र विषेशतः बर्खामा चट्याङको जोखिम पनि बढ्दो छ । चट्याङबाट वर्षेनी कम्तीमा ८० जनाको ज्यान जान्छ । कोरोनाको त्रासले घर भित्रै बसिरहेका तपाईँ हामी जो कोही पनि चट्याङको चपेटामा पर्न सक्छौँ भन्ने त पछिल्ला केही दिनको तथ्यांकले नै पुष्टि गरेको बिहीबर एकै दिन चट्याङ्ग लागेर ७ जनाको ज्यान गएको छ । ज्यान गुमाउने ४ जना त सप्तरीमा मात्रै छन् । यस्ती बुधबार बेलुकी पनि मकवानपुरमा चट्याङ्गले २ जनाको ज्यान गयो ।

यो त चट्याङबाट भएको पछिल्लो मानवीय क्षति मात्रै हो । गृहमन्त्रालयका अनुसार गत वर्ष अर्थात २०७६ सालमा देशभरी ८६ जनाको मृत्यु भयो । २०७५ सालमा ७५ जनाको ज्यान गयो । पछिल्लो आठ वर्षको तथ्या‌ंक हेर्ने हो भने वर्षमा औषतमा १ सय ८ जनाले चट्याङ्गबाट ज्यान गुमाउने गरेका छन् ।चट्याङ्गले पशुपन्छी पनि मर्छन् । घरमा पनि क्षति हुन्छ। चट्याङ्ग परेको घर भत्कन वा आगलागी हुन सक्छ ।

चट्याङ्गबाट हुने क्षति बढ्दो भए पनि आवश्यक सावधानी अपनाउने हो भने यसबाट जोगिन सकिन्छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका अनुसार चट्याङबाट हुने क्षति कम गर्न घरभित्र र बाहिर हुँदा फरक उपाय अपनाउन सकिन्छ ।

चट्याङबाट बच्न घर बाहिर हुँदा के गर्ने ?
१. अग्लो र एक्लो रुखमा ओत नलाग्ने
२. पौडी नखेल्ने, माछा नमार्ने र र्‍याफ्टिङ पनि नगर्ने
३. खुल्ला मैदानमा नबस्ने
४. धातुको तारबार नजिक नबस्ने
५. मैदानमा लमतन्न परेर नसुत्ने वा नखेल्ने
६. समूह वा झुन्डबाट अलग्गिने, मेला, हाटबजारमा नरहने
७. फुटबल, क्रिकेट, गल्फजस्ता खेल तुरुन्त बन्द गर्ने
८. गाईवस्तु सुरक्षित स्थानतर्फ लैजाने
९. जंगलमा भए स(साना रुखको बिचमा बस्ने
१०. पक्की घर वा गाडीभित्र भए झ्याल ढोका बन्द गरेर बस्ने
११. नजिक हाइभोल्टेज तार भएमा दुई खम्बाको बीचमा ओत लाग्ने
१२. खुल्ला मैदानमा भए दुई घुँडा बिच टाउको लुकाई टुक्रुक्क बस्ने

यी त भए चट्याङबाट बच्न घर बाहिर हुँदा अपनाउने उपाय । घरभित्र हुँदा पनि चट्याङको जोखिम उस्तै हुन्छ । त्यसैले घर भित्र हुँदा चाहिँ के गर्न सकिन्छ त ?

चट्याङबाट बच्न घर भित्र हुँदा के गर्ने ?
१. विद्युतीय सामग्री जस्तै टीभी, कम्प्युटर, फ्रिज प्रयोग नगर्ने
२. तारसहितको टेलिफोन प्रयोग नगर्ने
३. घर बाहिर ननिस्कने
४. नुहाउने, लुगाधुने वा भाँडा माझ्ने काम तत्काल बन्द गर्ने
५. विद्युतीय सामग्री जस्तै टीभी, कम्प्युटर, फ्रिज नजिक नबस्ने
६. अत्यावश्यक अवस्थामा मात्र मोबाइल वा कर्डलेश प्रयोग गर्ने
७. झ्याल ढोका बन्द गरी घरको भित्ता भन्दा टाढै बस्ने
८. नुहाउन र कपडा धुनै पर्ने भए बाल्टीनमा पानी प्रयोग गर्ने
९. केवुल र एन्टेनाको तार उपकरणबाट छुटाउने
१०. विद्युतीय सामग्रीका तार प्लगबाट छुटाउने

यीसँग सँगै चट्याङबाट बच्न घर बनाउँदा नै सावधानी अपनाउनुपर्छ । अर्थात घर बनाउँदा लाइटिनिङ्ग रड राखियो भने घरमा चट्याङ्ग पर्दैन ।

लाइटिनिङ्ग रड कसरी राख्ने त ?
– २ देखि ३ मिटरसम्मको तामा, आल्मुनियम अथवा जीआई रडलाई घरको छानामाथि राख्ने
– रडसँग १० एमएमको आल्मुनियम वा तामाको तार जोडेर भुइँसम्म ल्याउने
– माथिबाट ल्याएको तारलाई ओहोर दोहोर कम हुने ठाउँमा जमिनमुनि गाड्ने

चट्याङ प्राकृतिक प्रक्रिया हो । सावधानी अपनाउन सके यसबाट हुने क्षति कम गर्न सकिन्छ, त्यसका लागि सावधानी आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *