Political Hightlights

नेकपा स्थायी कमिटी बैठकमा सीमा समस्यामा छलफल, बैठकमा ओली अनुपस्थित

हिमालय टिभी
२०७७ असार १२ गते १४:५२
नेकपा स्थायी कमिटी बैठकमा सीमा समस्यामा छलफल, बैठकमा ओली अनुपस्थित

१२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अहिले भारतसँगको सीमा समस्याका विषयमा छलफल भैरहेको छ ।

छलफलमा स्थायी कमिटी सदस्यहरुले भारतसँग प्रभावकारी ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन । नयाँ नक्सा सार्वजनिक गरेकोमा उनीहरुले नेपाल सरकारको प्रशंसा गरेका छन ।

सीमा समस्या, डुबान र आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग प्रभावकारी वार्ता हुनुपर्ने नेताहरुको जोड । बैठकमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले सन् १८१६ देखिका सन्धि सम्झौता सहित नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि गरेका कामबारे बैठकमा जानकारी गराएको बैठकको बीचमा निस्केका पर्यटनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

नोभेम्बर, डिसेम्बर र जनवरी गरी तीन पटक वार्ताको प्रस्ताव गर्दा पनि भारतले नमानेको र कोरोनापछि वार्तामा बस्ने भारतले बताएको पनि उहाँले जानकारी दिनुभएको छ ।

अहिलेसम्म घनश्याम भुसाल, प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, मात्रिका यादव, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा र पम्फा भुसाल सहित ११ जनाले बोल्नुभएको छ । सीमा समस्याबारे बोल्न १० मिनेटको समय दिइएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित
बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।

विहान सवा ११ बजेदेखि शुरु भएको बैठकमा अध्यक्ष ओली उपस्थित हुनुहुन्न । बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसिरहेको छ । सरकारी काम भएको भन्दै ओली उपस्थित नभएको बताइएको छ ।

पर्यटनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले काम परेकोले उपस्थित नहुने जानकारी गराइएको र पछि आउन सक्ने बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका छन। महासचिव विष्णु पौडेलले बैठक सुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको र बीचमा आउने जानकारी गराएको बताउनुभएको थियो ।

सरकारको कामकै विषयमा केन्द्रीत रहेर नेताहरुले धारणा राख्ने दिननै ओली अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ । यसअघिको स्थायी कमिटी बैठकमा पनि ओली उद्घाटन शत्रमा बोलेर अरु दिन जानुभएको थिएन । कतिपय नेताले आलोचना सहन नसक्ने भएकाले यसपटक पनि ओलीले त्यसै गर्न सक्ने आंशका व्यक्त गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्