Main News

देशभर बिहानैदेखि वर्षा, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७७ असार १२ गते ७:४०
देशभर बिहानैदेखि वर्षा, सतर्कता अपनाउन सुझाव

१२ असार, २०७७ काठमाडौं । देशभरको मौसम सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्याकासहित देशका विभिन्न ठाउँमा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय भएको हो । मनसुन विगतको तुलनामा बढी सक्रिय भएकाले यो वर्षको मनसुनलाई राम्रो मनसुनका रूपमा लिन सकिने मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय भएसँगै किसानलाई राहात मिलेको छ भने मुलुकभर बाढीपहिरोको जोखिम पनि अत्यधिक बढ्दै जाने विज्ञहरूले औंल्याएका छन् । भारी वर्षाको सम्भावना भएकाले पनि प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने महाशाखाले औंल्याएको छ ।

आगामी केही दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो जानेसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन महाशाखाले सबैमा आह्वान गरेको छ ।

मनसुन सुरु भएसँगै देशका विभिन्न ठाउँमा १७ जनाले ज्यान गुमाइसकेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *