समाज

चट्याङ लागेर देशका विभिन्न स्थानमा आठ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार ११ गते १८:३६
चट्याङ लागेर देशका विभिन्न स्थानमा आठ जनाको मृत्यु

११ असार, २०७७ काठमाडौं । देशका विभिन्न ठाउँमा चट्याङ लागेर आज आठ जनाको मृत्यु भएको छ । सप्तरीमा चार, मकवानपुरमा दुई, कपिलवस्तु र उदयपुरमा एक एक जनाको ज्यान गएको छ ।

सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर ज्यान गएको छ ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

खेतमा धान रोप्न गएका डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् ।

यस्तै मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर २ का १७ वर्षिया सम्झना घिसिङ २५ वर्षिया विना घिसिङको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सम्झनाको घरमै र विनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मकवानपुरमै चट्याङ लागेर एकजना घाइते भएका छन् । चट्याङ लागेर कपिलवस्तुमा पनि आज एकजनाको मृत्यु भएको छ । शिवराज नगरपालिका वडा नम्बर ११ थुनिहामा चट्याङ लागेर खेतमा काम गर्दै गरेका स्थानीय ४५ बर्षिय सत्यनारायण कुर्मीको मृत्यु भएको हो ।

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको र छ भने एक जना घाइते भएका छन् । त्रियुगा नगरपालिका वडा नम्वर १३ असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *