समाज

कोरोनाको उपचारमा भन्दा शव व्यवस्थापनमा सकस, कतै स्थानीयकै अवरोध (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ७ गते २०:०६
कोरोनाको उपचारमा भन्दा शव व्यवस्थापनमा सकस, कतै स्थानीयकै अवरोध (भिडियोसहित)

७ असार, २०७७ नेपालगञ्ज । कोरोना संक्रमितसंगै संक्रमणका कारण ज्यान गुमाउने पनि थपिँदैछन । तर संक्रमितको उपचारमा भन्दा शव व्यवस्थापनमा समस्या पर्ने गरेको छ ।

घटना–१
जेठ ४ गते बाँकेको नरैनापुर(५ का २५ वर्षिय युवाको क्वारन्टिनमै मृत्यु भयो । स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भए । उनीहरुले क्वारन्टिन स्थल घेरोउ गरे।

जब मृत्यु भएका युवामा कोरोना संक्रमण भएको रिपोर्ट आयो त्यसपछि स्थानीय मात्रै नभएर उनका आफन्त पनि क्वारन्टिन स्थलबाट फर्किए । उनीहरुले युवकको शव व्यवस्थापनमा कुनै सहयोग गरेनन् । बरु अवरोध गरे । सुरक्षाकर्मीले निक्कै सास्ती खेपेर शवको ब्यबस्थापन गरे ।

घटना–२
असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी ४६ वर्षीया संक्रमित महिलाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भयो । नेपाली सेनाको टोली शव व्यस्थापनका लागि अस्पताल पनि पुग्यो । तर अस्पतालबाट घाटसम्म शव पुराउन शब बाहनको ब्यबस्था हुन सकेन ।

एम्बुलेन्समा शव लैजाने प्रयास गरियो तर एम्बुलेन्स चालकले मानेनन् । निक्कै बेरको प्रयास पछि बैजनाथ गाउँपालिकाका अध्यक्षले नै आफू चढ्दै आएको पिकअप भ्यान शब बोक्न लागि दिए । शव बोकेर नेपाली सेनाको टोलीले मृतकका आफन्त मानखोला घाट पुगे । घाट नजिकैको जंगलमा शब गाड्न खाल्टो पनि खनियो । तर स्थानीय बासिन्दा बिरोधमा उत्रिए । शव गाड्न दिएनन । त्यसपछि जंगलमा लगेर खाल्डो खनेर शव ब्यबस्थापन गरियो ।

घटना– ३
बैजनाथकी महिलाको शव व्यवस्थापन गरेको २४ घण्टा नपुग्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कैलाली लम्की चुहाकी ४३ वर्षीया महिलाको कोरोना कै कारण मृत्यु भयो । जिल्ला बाहिरकी महिला भएकाका कारण झन विरोध र समस्याको सामना गर्नुपर्ने निष्कर्षमा पुगेको सेनाले छापामार शैली अपनायो । धर्मसंस्कार अनुसार नभएपनि सेनाले ती महिलाको सम्मानका साथ अन्त्येष्टि गर्यो ।

बाँकेका यी तीन घटनाले कोरोना संक्रमणबारे समाजको बुझाई मात्रै होईन, सरकारको तयारीको हालत पनि प्रष्ट पार्छ । कोरोना संक्रमण फैलन नदिन जोखिममा रहेका ब्यक्तिलाई क्वारन्टिनमा राख्ने, स्वाब परिक्षण गर्ने, आइसोलेशन र अस्पतालमा राखेर उपचार गर्न ८ अर्बभन्दा धेरै खर्च भैसकेको बिबरण सार्बजनिक भई सकेको छ । शव ब्यबस्थापन गर्ने जिम्मेबारी नेपाली सेनालाई दिइएको छ । तर त्यसका लागि आवश्यक पर्ने सामाग्री नहुँदा समस्या छ ।

बडो सकस पूर्ण तरिकाले शव व्यस्थापनको तयारी गरे पनि स्थानीयको विरोध खेप्नु परेको छ । शव व्यवस्थापनमा एक पछि अर्को गर्दै चुनौती देखिएपछि प्रशासनलाई छापामार शैली अपनाउनु परेको छ ।

कोरोना संक्रमणबाट मान्छेको ज्यान जानु अघि नै सरकारले शव व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको थियो । कार्यविधिमा धार्मिक संस्कार अनुसार शवको अन्त्येष्टि गर्ने व्यवस्था छ । तर शव व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाली सेनाले कुनै सर सामान पाएको छैन ।

त्यसैले उसले हिन्दु मुस्लिम बौद्ध सिख जुनसुकै धर्मका भए पनि कोरोना संक्रमितको शव गाड्दै आएको छ । साथ साथै उसले अवरोधको पनि सामना गर्नु परिरहेको छ । यसले मृतकका परिवारमा आफन्त गुमाएको पीडासँगै ससम्मान अन्त्येष्टि गर्न नपाएको पीडा थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *