आर्थिक

विमानस्थल ध्वस्त बनाउनेहरुको चोला फेरियो, तर ध्वस्त विमानस्थल उस्तै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते २०:१३
विमानस्थल ध्वस्त बनाउनेहरुको चोला फेरियो, तर ध्वस्त विमानस्थल उस्तै (भिडियोसहित)

६ असार २०७७ अछाम । पूर्वी अछामको कमलबजार विमानस्थल निर्माण थालिएको २७ बर्ष वित्यो । तर अहिलेसम्म निर्माणको काम सकिएको छैन् । कच्ची धावनमार्ग तयार गरेर उडानको तयारी भइरहेका बेला २०५८ सालमा तत्कालिन माओवादीले टावर ध्वस्त पारेपछि यो विमानस्थल थला परेको छ ।

युवाहरुले भलिबल खेलिरहेको यो खेल मैदान हैन, यो त अछामको कमलबजार विमानस्थलको मैदान हो । तर यहाँ विमान उड्दैन । त्यसैले गोठालाहरु वस्तु चराउँछन् । र युवाहरु भलिबल खेल्छन् ।

२०५२ सालमा स्थानीय बासिन्दाले बनाउन शुरु गरेको यो विमानस्थल अधुरै रहेकाले अहिले खेल मैदानमा परिणत भएको हो । कच्चि धावनमार्गमा नै भए पनि विमान सेवा शुरु गर्ने लक्ष्यसहित गाउँलेले काम गरे । नागरिक उड्ययन प्राधिकरणले टावरलगायतका उपकरण राख्यो । दुई पटक परीक्षण उडान गरियो ।

गाउँले नियमित उडानको पर्खाईमा थिए । तर २०५८ साल फागुन ४ गते राती तत्कालिन नेकपा माओवादीले यहाँ आक्रमण गर्‍यो । र टावरलगायतका उपकरण ध्वस्त पार्‍यो । त्यसको २ दशक पुग्नै लागे पनि टावरको पुनर्निर्माण भएन । त्यसैले यो विमानस्थल गौचरणमा परिणत भयो । यहाँ हवाइ उडान भएमा पूर्वी अछाममा धेरै सहयोग पुग्ने थियो ।

८५ रोपनी जमिनमा निर्माण गरिएको यो विमानस्थल ६ सय ५० मिटर लम्बाई र ८० मिटर चौडा छ । रनवे को जहाज ‘रिर्टन’ हुने ठाउँमा भने १ सय १० मिटरसम्म चौडा छ । यो विमानस्थलको १ सय ५० मिटर क्षेत्रफल अझै समथर पार्न बाँकी नै छ । सुरुमा तिन करोड ६५ लाख र त्यसपछि २०६४ सालमा थप एक लाख खर्च गरेर भिरालो जमिन समथर पारिएको थियो । तर बिमानस्थल सञ्चालन गर्न सकिएन । त्यसैले अछामको पूर्बी क्षेत्रमा बिकासको मुल ढोका नै बन्द छ ।

कमलबजार बिमानस्थल संचालनका लागि स्थानीय सरकार र संघमा प्रतिनिधित्व गर्ने सांसदले पटक–पटक पहल गरे । तर उनीहरुको आग्रह र अनुरोध कसैले सुनेन् । कसैले नसुने पछि पूर्बी अछामका कमलबजार सहित पञ्चदेवल बिनायक नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकाले आफै बजेट खर्च गरेर भए पनि यो बिमानस्थल संचालन गर्ने पहल गरिरहेका छन् । तर पनि उनीहरुकै बजेटले मात्र त्यो सम्भव छैन् ।

घर छेउमै रहेको बिमानस्थल गौचरण र खेल मैदानमा परिणत भएपछि स्थानीयबासिन्दाको जहाज चढ्ने सपना अधुरै छ । पर्यटन र व्यापार व्यवसाय समेत सुस्ताउँदा पूर्वी अछामले समृद्धिको पाइला चाल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *