Main News

जोरविजोर प्रणाली थप कडा हुँदै, आज १ हजार ३ सय ४७ सवारीसाधनमाथि कारबाही

हिमालय टिभी
२०७७ असार ५ गते १८:०४
जोरविजोर प्रणाली थप कडा हुँदै, आज १ हजार ३ सय ४७ सवारीसाधनमाथि कारबाही

५ असार, २०७७, काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ ।

जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो । महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिइरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाइन्टहरू राखेर थप कडाई गरिरहेको जनाएको छ ।

आज मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लंघन गरी सञ्चालन गरेका ९ सय ४८ वटा दुई पाङ्ग्रे, २ सय ४७ भाडाकार (ट्याक्सी) र १ सय ६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १ हजार ३ सय ५८ वटासवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभएको छ ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेका कारण थप चेकजाँज गरी कडाई गरेको बताउनुभयो।

हालसम्म लकडाउन कार्यान्वयनमा आम नागरिकले पुर्‍याएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लंघन गर्ने १२,५८२वटा सवारी साधन नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *