Main News

कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतक संख्या २२ पुग्यो, एकै दिन थपिए ६७१ संक्रमित

हिमालय टिभी
२०७७ असार ४ गते १६:५२
कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतक संख्या २२ पुग्यो, एकै दिन थपिए ६७१ संक्रमित

४ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो ।

यस्तै लम्किचुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बिहीबार नेपालमा ६ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा बिहीबार ६ सय ७१ जनामा संक्रमण देखिएको हो । यो अहिलेसम्मकै एकैदिन संक्रमण देखिएको उच्च संख्या हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ ।

देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् । यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *