Main News

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

हिमालय टिभी
२०७७ असार ४ गते १४:४४
संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

४ असार, २०७७ काडमाडौं । नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको आज बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा फेर्न ल्याइएको विधेयक दुई तिहाई बहुमतका साथ सर्वसम्मतिले पारित गरेको हो । कानूनमन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको प्रस्तावका पक्षमा राष्ट्रिय सभामा उपस्थित सबै ५७ जना सदस्यले मतदान गरे ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको पूर्ण सदस्यको दुईतिहाइ आवश्यक थियो । विधेयक संशोधनका लागि कुनै पनि सांसदले प्रस्ताव दर्ता गरेका थिएनन। योसँगै अब संविधानको अनुसूची ३ मा रहेको निशान छाप फेरिनेछ ।

जेठ ३१ गते प्रतिनिधिसभाबाट पारित विधेयक राष्टिय सभामा पठाइएको थियो । अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिईनेछ ।

राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभामुखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतको भूभाग समेटेर ७ जेठमा नयाँ नक्सा जारी गरेको थियो ।

राष्टिय सभाका सबै राजनीतिक दलले नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयकमा समर्थन गरेका थिए ।

नेताहरुले राष्ट्रियताको मुद्दामा विभाजन हुन नसकिने प्रष्ट पार्दै वार्ताबाट भारतले अतिक्रमण गरेको भूमि वार्ताबाटै फिर्ता ल्याउनेतर्फ काम थाल्न सरकारलाई आग्रह गरेका छन् । राष्टिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नै पर्ने बताउनुभयो । शर्माले भारतले पूर्वमा दार्जिलिङ्ग र पश्चिममा काँगडा पनि फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्टिय सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले अब कालापानीबाट भारतीय सेना फिर्ता गराउने काममा लाग्न सरकारलाइ आग्रह गर्नुभयो ।

यस्तै राजपाका शेखर सिंह र समाजवादीका प्रमिला कुमारीले मधेशी नागरिकको देशभक्तिमा शंका नगर्न आग्रह गर्दै सधैँ देशको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *