समाज

महाकाली अस्पतालबाट ४ जना कोरोना जितेर घर फर्किए

हिमालय टिभी
२०७७ जेठ ३२ गते १७:४४
महाकाली अस्पतालबाट ४ जना कोरोना जितेर घर फर्किए

३२ जेठ, २०७७, कञ्चनपुर । महाकाली उपप्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

आइतबार अस्पतालले १४ दिनसम्म आइसोलेसन बसेका चार जनालाई डिस्चार्ज गरेको हो । १४ औं दिनसम्म उपचाररत ४ जनामा स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन कटेका र लक्षण नदेखिएका संक्रमितहरुलाई डिस्चार्ज गरेको हो ।

अस्पतालले नयाँ निर्देशिका बमोजिम उनीहरुको नेगेटिभ रिजल्ट कुर्नु नपर्ने देखिएकाले डिस्चार्ज गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही जेठ २० गते जारी गरेको कोभिड–१९ केश आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकामा लक्षण तथा चिन्ह नदेखिएका केशको हकमा आइसोलेसन बसेको १४ दिनपछि डिस्चार्ज गर्न मिल्ने उल्लेख छ ।

१४ दिन आइसोलेशनमा बसेर आज डिस्चार्ज भएकाहरुले कोरोना पोजिटिभ भएकाहरुले आत्मबल बढाए कोरोनालाई सहजै जित्न सकिने प्रतिक्रिया दिएका छन् । सुरुमा केही असहज भए पनि आत्मविश्वासमा रहेर सामान्य दैनिक क्रियाकलापमा रहे कोरोना जित्न सकिने उनीहरुको भनाइ छ ।

अस्पतालले आइतबार काठमाडौँ कागेश्वरी नगरपालिकाका २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका एक/एक जनालाई १४ दिन कटेको र लक्षण पनि नदेखिएको भन्दै डिस्चार्ज गरेको हो ।

उनीहरुलाई दुई हप्ता जति होम क्वारन्टिन तथा आइसोलेसनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन सुझाव दिइएर पठाइएको अस्पतालले जनाएको छ।

आइतबारसम्म महाकाली अस्पतालको आइसोलेसन वार्डमा ३८ जना कोरोना पोजिटिभ रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल संचाललक समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *