Main News

दोस्रो संविधान संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदै

हिमालय टिभी
२०७७ जेठ ३१ गते ७:४०
दोस्रो संविधान संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदै

३१ जेठ, काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुने भएको छ ।

जेठ १८ गते प्रस्तुत विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय तोकिएको थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइने छ ।

सङ्घीय संसद् सचिवालयले आज १ बजे बस्ने बैठकमा विधेयक माथि दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संविधान संशोधन विधेयकमाथि जनता समाजवादीकी सांसद सरिता गिरीको एउटा संशोधन प्रस्ताव पनि दर्ता भएको छ । पार्टीले प्रस्ताव फिर्ता लिन लिखित निर्देशन नै दिए पनि प्रस्ताव फिर्ता भएको छैन ।

आज विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संविधान संशोधनको पक्षमा छन् ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *