Main News

औपनिवेशिक मानसिकता त्याग्न र तथ्य र प्रमाण स्वीकार गर्न भारतलाई नेपालको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३० गते २०:१८
औपनिवेशिक मानसिकता त्याग्न र तथ्य र प्रमाण स्वीकार गर्न भारतलाई नेपालको आग्रह (भिडियोसहित)

३० जेठ, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय संचार माध्यममा अन्तरवार्ता दिँदै औपनिवेशिक मानसिकता त्याग्न र तथ्य प्रमाण स्वीकार्न आग्रह गर्नुभएको छ ।

भारतीय टेलिभिजन च्यानल आजतकलाई दिएको अन्तर्वार्तामा मन्त्री ज्ञवालीले नेपाललाई अन्य कसैले उक्साएको भन्ने आरोपको कडा प्रतिवाद गर्नुभयो । उहाँले भारतीयलाई चस्मा परिवर्तन गर्न समेत सुझाव दिनुभएको छ ।

नेपालको भूमि हडपेर बसेको भारतले हुने नहुने कुरा गरिरहेको छ । र,आफूले नेपालको भूमि कब्जा गरेको विषयलाई अन्तै मोड्न यसमा चीनको हात रहेको बताइरहेको छ,। आजतकका अन्तरवार्ताकारले पनि मन्त्री ज्ञवालीसँग यो विषय सोध्छन् ।

मन्त्री ज्ञवालीले चेतावनीको भाषामा नेपाल स्वतन्त्र, सार्वभौम र कसैको उपनिवेश नभएको नभूल्न जवाफ दिनुभएको छ । झण्डै दुई सय वर्ष बेलायतको उपनिवेश रहेको भारतको औपनिवेशिक मानसिकता नै समस्या भएको मन्त्री ज्ञवालीले सम्झाउन खोज्नुभएको छ ।

भारतको मानसिकताका कारण सिर्जित समस्याको समाधान सजिलो छ र त्यो मन्त्री ज्ञवालीले आजतक मार्फत भारतीय पक्षलाई प्रष्ट पार्नुभएको छ । नेपालले कहिले पनि कसैको अतिरिक्त भूभागको लालसा गरेको पनि छैन । त्यसैले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली पूर्वको भूभाग नेपालको हो र त्यो भारतले छोड्नुपर्छ ।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले वार्ताको वातावरण बनाउनुपर्छ भनिरहेको छ र नयाँ नक्सा सच्याउनुपर्छ भनिरहेको छ, अन्तर्वार्ताका क्रममा आजतकका पत्रकारले पनि यो विषय उठाउँछन । तर नेपालको प्रष्ट जवाफ छ, नेपालकै भूमि नक्सामा राखिएको र यो फेरबदल हुँदैन अनि यसले वार्ता गर्न कुनै अड्चन हुनुहुन्न ।

नेपाल वार्ताका लागि तयार छ र तथ्य प्रमाण सहित वार्तामा बस्न भारतलाई आग्रह पनि गरिरहेको छ । जति छिटो समस्या समाधान भयो, त्यति राम्रो हुने र अघि बढ्न सकिने तर्फ पनि मन्त्री ज्ञवालीले भारतको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाली नेताहरुसँग कुरा गर्दा भारतीय संचारमाध्यम आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन् । तर परराष्ट्रमन्त्री ज्ञवाली भने आजतकका अन्तरवार्ताकारमाथि हावि हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *