समाज

नेपालगञ्ज मेडिकल कजेलमा कोरोना संक्रमित गर्भवती महिलाको ठुलो आन्द्राको सफल शल्यक्रिया (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २७ गते १९:१९
नेपालगञ्ज मेडिकल कजेलमा कोरोना संक्रमित गर्भवती महिलाको ठुलो आन्द्राको सफल शल्यक्रिया (भिडियोसहित)

२७ जेठ, २०७७ बाँके । बाँकेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण भएकी गर्भवतिको सफल शल्यक्रिया गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको शल्यक्रिया गरिएको यो नेपालमै पहिलो हो । आन्द्रामा समस्या भएकी पाँच महिनाकी गर्भवति ती महिलालाई अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरेर हिजो नेपालगञ्ज ल्याइएको थियो । १ घन्टा १५ मिनेटको शल्यक्रियापछि महिला र उनको गर्भको शिशु दुवैलाई जोगाउन सफल भएको अस्पतालले जनाएको छ ।

आन्द्रामा समस्या आएपछि ती महिलाको ६ दिन देखि दिसा रोकिएको थियो । परिवारसहित १२ दिनअघि भारतबाट आएकी उनी अछाममा क्वारन्टिनमा थिइन् ।

अस्पतालका सर्जन प्रदीप थापा, आशिष भटट, डा शिरीष आचार्य, स्टाफ नर्श सुनिता योगी, सुस्मिता गुरुङ र निर्मला बैगार सहितको टोलीले यो शल्यक्रिया गरेको हो । संक्रमण देखिएपछि उच्च सावधानी अपनाएर उनको शल्यक्रिया गरिएको हो ।

ती महिलाको परिवारका सदस्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ । कोरोना संक्रमितको उपचारका लागि आज सेवा बन्द गरिए पनि भोलिदेखि सबै सेवा पूर्ववत् रुपमा शुरु गर्ने अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालगन्ज मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचार गर्ने तेस्रो तहको अस्पतालको सुचिमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *