आर्थिक

निजी काममा प्रयोग हुने विद्युतीय सवारी साधनमा मात्र कर बढाएको अर्थमन्त्रीको दाबी

हिमालय टिभी
२०७७ जेठ २७ गते १४:४९
निजी काममा प्रयोग हुने विद्युतीय सवारी साधनमा मात्र कर बढाएको अर्थमन्त्रीको दाबी

२७ जेठ, २०७७ काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निजी प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनमा मात्र कर बढाइएको भन्दै सरकारको बचाउ गर्नुभएको छ ।

प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री डा. खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनमा कर यथावत राखिएको भन्दै निर्णयको बचाउ गर्नुभयो ।

विद्युतीय सवारी साधनलाई छुट दिने नाममा असीमित रुपमा कर छुट दिन नसकिने उहाँले बताउनुभयो । नाकाबन्दीपछि निजी सवारीलाई १० प्रतशित भन्सार लगाउने व्यवस्था गरिएको भन्दै मन्त्री खतिवडाले अझै उही व्यवस्था कायम राख्न नसकिने दाबी गर्नुभयो ।

बजेटमार्फत सरकारले विद्युतीय सवारी साधनमा १ सय ३९ प्रतिशतसम्मले भन्सार शुल्क बढाइदिएपछि त्यसको व्यापक विरोध हुँदै आएको छ ।

यद्यपि विद्युतीय सवारी साधनमा दक्षिण एशियाली मुलुकको तुलनामा नेपालमा थोरै कर लाग्दै आएकोमा सोही अनुरुप बनाउनसमेत कर बढाउनु परेको अर्थमन्त्रीको भनाइ छ । यस्तै अर्थमन्त्री डा. खतिवडाले भुकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनाले गर्दा वैदेशिक ऋण बढेको स्पष्टिकरण दिनुभएको हो ।

कोरोनाको उपचार तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँ कुनकुन प्रयोजनमा खर्च भयो भन्नेबारे छिट्टै सार्वजनिक गर्नेसमेत अर्थ मन्त्री खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *