विभिन्न ३० मुलुकमा अलपत्र २४ हजार बढी नेपालीलाई स्वदेश फर्काउने तयारी

हिमालय टिभी
२०७७ जेठ २७ गते ७:५८
विभिन्न ३० मुलुकमा अलपत्र २४ हजार बढी नेपालीलाई स्वदेश फर्काउने तयारी

२७ जेठ, २०७७ काठमाडौं । सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई स्वदेश फर्काउने भएको छ ।

सरकारले तोकेको प्राथमिकताको आधारमा २४ हजार १४८ जना नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने विवरण विदेशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।

सरकारले यसअघि अति नै समस्यामा परेकाको उद्धार गर्ने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाएको थिएन । परराष्ट्रमा दूतावासहरुले पठाएको विवरण अनुसार खाडीका देश र मलेसियामा पहिलो चरणमा १७ हजार ७ सय ७४ जनाको उद्धार गर्नु पर्ने अवस्थामा रहेका छन् ।

उद्धार गर्ने नेपालीमा साउदी अरवबाट ३ हजार ३ सय १२, यूएईबाट ४ सय १०, बहराइनबाट ३ सय ७२, कतारबाट ३ हजार ६ सय ८, मलेसियाबाट ६ हजार ४ सय २५, ओमानबाट ६ सय ५६ र कुवेतबाट २ हजार ९ सय ९१ रहेका छन् । यस्तै, माल्दिभ्समा कोरोनाको कारण समस्यामा परेका २ सय ७४ जना नेपालीको सरकारले उद्धार गर्ने भएको छ ।

खाडीका देश र मलेसियाबाट मात्रै ४० हजार जनाले फर्कन खोजेको त्यहाँ रहेको नेपाली दूतावासको तथ्याँक छ । तर सरकारले पहिलो चरणमा अति नै समस्यामा परेकालाई मात्र प्राथमिकतामा राखेर स्वदेश फर्काउने भएको हो ।

सरकारले आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएकालाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *