समाज

काठमाडौं उपत्यकामा तीन वटा स्मार्ट सिटी बन्दै, यस्तो छ तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २६ गते २०:११
काठमाडौं उपत्यकामा तीन वटा स्मार्ट सिटी बन्दै, यस्तो छ तयारी (भिडियोसहित)

२६ जेठ, २०७७ काठमाडौं । स्थानीय तहको चुनावताका धेरै उमेदवारले स्मार्ट सिटी बनाउने घोषणा गरे । चुनावमा दिइएका नारा, नारामै सीमित रह्यो र कुनै पनि शहर स्मार्ट बन्न सकेनन् । तर शहरी विकास मन्त्रालयले भने काठमाडौं उपत्यकामा ३ वटा स्मार्ट सिटी बनाउने प्रस्ताव तयार पारेर मन्त्रीपरिषदमा पेश गरेको छ । यो प्रस्ताव स्वीकृत हुने हो भने काठमाडौंमा १ र भक्तपुरमा २ वटा नयाँ स्मार्ट सिटी निर्माण प्रकृया सुरु हुनेछ ।

काठमाडौं उपत्यका भौतिक विकास समितिले तयार पारेका ४ वटा नयाँ स्मार्ट शहरको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमध्ये तीन वटा परियोजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ । २०७४ साल वैशाखम‍ै काठमाडौँ उपत्यकामा चार नयाँ शहर बनाउने निर्णय गरे पनि काठमाडौँ उपत्यका विकास प्राधिकरणले डिपिआर तयार पार्न लामो समय लगायो । र उसले तयार पारेको प्रस्ताव बल्ल मन्त्रिपरिषद पुगेको हो ।

मन्त्रिपरिषदले डिपिआर स्वीकृत गरेमा काठमाडौंमा १ र भक्तपुरमा २ वटा नयाँ स्मार्ट सिटी निर्माण प्रकृया सुरु हुनेछ । काठमाडौंको साँखु क्षेत्रलाई समेटेर एक तथा भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म र बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म नयाँ स्मार्ट सिटी बन्नेछ । प्रस्तावित यी स्मार्ट सिटी सूचना प्रविधियुक्त पूर्वाधारसहित व्यवस्थित र आधुनिक बन्ने प्राधिकरणको दाबी छ ।

डिपिआर तयार भइसके पनि समितिको बैठकमा ललितपुरका मेयर चिरीबाबु महर्जन अनुपस्थित भएपछि ललितपुरको सिमालखालदेखि खहरे खोलासम्मको प्रस्तावित शहरको डिपिआर भने मन्त्रिपरिषद पठाइएको छैन् । यी डिपिआर निर्माणमा मात्रै १६ करोड रुपैयाँ खर्च भएको छ । डीपीआरले भक्तपुरको नगरकोटदेखि मूलपानीसम्मको क्षेत्रमा सबैभन्दा ठूलो शहर बन्ने देखाएको छ ।

एक लाख रोपनीको क्षेत्रफलमा फैलिने यो शहर निर्माण गर्न चार खर्ब रुपैयाँ लाग्ने र ५ वर्षमा बनाइ सकिने दाबी प्राधिकरणको छ । समान १० हजार रोपनीमा फैलने अन्य २ शहर बन्न ३ वर्ष लाग्ने र प्रति शहर ३० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्राधिकरणको भनाई छ । नयाँ शहर बसाउन निकै धेरै बजेट आवश्यक पर्ने भए पनि विदेशी लगानीकर्ताहरु तयार रहेकाले लगानीको समस्या नपर्ने प्राधिकरणको दाबी छ ।

प्रस्तावित नयाँ शहर बन्ने क्षेत्रमा नयाँ घर तथा प्लटिङको काममा रोक लगाइसकिएको छ । यस्तै कलकारखाना खोल्न पाइने छैन । पछिल्लो समयमा काठमाडौंमा थप नयाँ शहर बसाउन नहुने आवाज समेत उठेको छ । तर काठमाडौं उपत्यकामा बढ्दै गएको चाप व्यवस्थापन गर्न काठमाडौंमा नयाँ शहर अपरिहार्य भएको प्राधिकरणको दावी छ ।

शहरमा बस्ने जनसंख्या र शहरीकरण बढ्दै गएको पछिल्लो सन्दर्भमा व्यवस्थित शहरको परिकल्पना गर्नु आफैंमा राम्रो सुरुवात हो । तर डिपिआर बनाउनै ३ वर्ष समय लागउने सरकारले शहर बसाल्न कति सयम लगाउने हो टुँगो छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *