Main News

पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, एक दर्जनभन्दा बढी पक्राउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २६ गते १९:३०
पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, एक दर्जनभन्दा बढी पक्राउ (भिडियोसहित)

२६ जेठ, २०७७, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापनमा समस्या भएको छ ।

सुरुमा घाट र शव लैजाने चालककै समस्या देखियो । पछि शव व्यवस्थापन गर्ने ठाउँको निधो भइसकेपछि स्थानीय जनप्रतिनिधि, सांसदसहितको टोली पुगेर गाड्न नदिने अडान राखे ।

पोखरा महानगरपालिकाले वडा नं ११ मणिपाल शिक्षण अस्पताल तल सेती नदी घाटमा संक्रमितको शव गाड्ने निधो गरे पनि स्थानीयले अवरोध गरेका कारण ठूलै समस्या उत्पन्न थियो । वडा नम्बर ११ र २० का स्थानीयले शव गाड्ने स्थान जाने बाटो नै छेकेर अवरोध गरे ।

नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारे पनि सहमति नजुट्दा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आइलोलेसनमा २० घन्टा अलपत्र परेको थियो ।

सेती किनारमा शव गाड्दा जोखिम हुने र थप संक्रमण बढ्न सक्ने भन्दै स्थानीय विरोधमा उत्रिएका थिए । शव लैजान नेपाली सेनाको टोलीलाई स्थानीयले पटक पटक अवरोध गरेपछि प्रहरी नै परिचालन गर्नुपर्ने स्थिति सिर्जना भएको थियो ।

वडाध्यक्षले पोखरा महानगरले शव व्यवस्थापनमा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापासमेत शव लैजान नदिने अडानमा देखिएका थिए ।

प्रहरी टोलीले शव लैजान अवरोध गर्ने भीडमाथि लाठी चार्ज नै गर्नुपरेको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही सामान्य घाइते भएका छन् । अवरोध गर्न खोज्ने एक दर्जन भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछि प्रहरीले एमबुलेन्सको व्यवस्थापन गरेर नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *