आर्थिक

हवाई उडान कम्पनीका लागि नयाँ मापदण्ड ल्याइँदै

हिमालय टिभी
२०७७ जेठ २४ गते १२:४८
हवाई उडान कम्पनीका लागि नयाँ मापदण्ड ल्याइँदै

२४ जेठ, २०७७, काठमाडौं । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ ।

उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट अर्थात निर्मलीकरण गर्नुपर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ ।

मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ ।

त्यस्तै यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ । त्यस्तै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा जनाइएको छ ।

आन्तरिक उडानमा खानपिनको व्यवस्थामासमेत रोक लगाइएको छ । ७० वर्ष उमेरमाथिका वृद्धवृद्धा, गभर्वती र गम्भीर स्वास्थ्य समस्या भएकालाई सकेसम्म उडान नगर्न आग्रह गरिएको छ । यात्रुलाई जहाजसम्म पुर्याउने बसलाई हरेकपटकको यात्रापछि डिस्इन्फेक्ट गर्नुपर्ने छ ।

जहाजका चालक दल सदस्यले मास्क, चस्मासहित आवश्यकताअनुरूप पीपीईको समेत प्रयोग गर्नुपर्ने छ । उडानपूर्व चालकदल सदस्यको पनि अनिवार्य रूपमा ज्वरो मापन गर्नुपर्नेछ । मापदण्डको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *