आर्थिक

सरकारद्वारा उद्योगी व्यवसायीसँग कर बुझाउन ताकेदा शुरु

हिमालय टिभी
२०७७ जेठ २० गते १४:०४
सरकारद्वारा उद्योगी व्यवसायीसँग कर बुझाउन ताकेदा शुरु

२०, जेठ, २०७७, काठमाडौं । लकडाउनका कारण २ महिना थपिएको म्याद सकिनै लाग्दा सरकारले उद्योगी व्यवसायीलाई कर बुझाउन ताकेता गरेको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना निकालेर जेठ २५ भित्रै कर बुझाउन ताकेता गरेको हो । विभागले २०७६ को फागुन र चैतको मासिक, माघ र फागुन महिनाको द्धिमासिक तथा मंसिर र फागुनसम्मको चौमासिक विवरण र कर बुझाउन भनेको छ ।

फागुन र चैत महिनाको अन्तःशुल्क र अग्रिम कर कट्टी तथा अग्रिम कर सम्बन्धि विवरण र कर बुझाउनुपर्ने विभागले जनाएको छ । यस्तै २०७६ फागुन र चैतको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर समेत जेठ २५ भित्रै दाखिला गर्न भनिएको छ ।

विभागले २०७६ चैत महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६–७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिलाका लागि जेठ मसान्तसम्मको म्याद दिएको छ । तोकिएको म्याद भित्र कर बुझाए कुनै प्रकारको अतिरिक्त शुल्क, ब्याज र जरिवाना नलाग्ने समेत विभागले स्पष्ट गरेको छ ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले कर तिर्ने म्याद जेठ २५ गतेसम्मका लागि सारेको थियो । सरकारले ताकेता गरेपनि यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प भएकोले समय थप्नुपर्ने उद्योगी तथा व्यवसायीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *