Political Hightlights

रुकुम घटना छानबिन गर्न दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन गर्न माग

हिमालय टिभी
२०७७ जेठ १९ गते १२:१२
रुकुम घटना छानबिन गर्न दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन गर्न माग

१९ जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटना छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिन गर्न माग गरेको हो । प्रतिनिधिसभामा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यही माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम चाल्न बाध्य नपारीयोस ।’’

प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राख्नुभएको थियो । उहाँले गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने बताउनुभयो । ‘‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ । त्यो छानबिन समितिले न्याय दिन सक्दैन् । र, हामीलाई समिति मान्य पनि छैन् । यस हत्याकाण्डलाई फितलो बनाउनका लागि सत्तापक्षबाट जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं ।’’ उहाँले भन्नुभयो,

‘‘गृहमन्त्रीले तिनीहरु हामफाले भन्नुभएको छ । पोस्टमार्टम गर्दा मृतकका पेटबाट पानी आएको छैन् । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टम गर्दा पानी नअमाउनुको कारण तिनीहरुलाई मारेर फालिएको थियो । त्यस्तै कसैलाई डोरीले बाँधेर खोलामा फालिएको थियो ।’’

पश्चिम रुकुमको चौरजहारीमा भएको घटनामा आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो । घटनामा अझै एक जना बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्