आर्थिक

नयाँ बजेटमा के के छन् नयाँ कुरा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १७ गते १९:२४
नयाँ बजेटमा के के छन् नयाँ कुरा ? (भिडियोसहित)

१७ जेठ, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा परेको छ ।

यसै कारण बजेटमा स्वास्थ्य क्षेत्रसँग जोडिएका धेरै नयाँ योजना समावेश छ । सरकारले कोरोना महामारीबाट पाठ सिक्दै भविष्यमा देखा पर्ने यस्तै सम्भावित जोखिमसँग जुध्न काठमाडौं उपत्यकामा ३ सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । हरेक प्रदेशमा समेत ५० शैयाको सरुवा रोगको उपचार हुने अस्पताल सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

यस्तै सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा समेत अघि सारेको छ । निजी अस्पतालका चिकित्सकले अनिवार्यरुपमा सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यद्यपी त्यसको प्रकृया र अन्य विषयबारे भने बजेट मौन छ ।

बढी दुर्घटना हुने राजमार्गका रहेका अस्तपतालमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको योजना छ । हाल गम्भीर दुर्घटना परे काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर दौडाउनुपर्ने बाध्यता छ । सडक दुर्घटनामा ज्यान गुमाउने र गम्भीर घाइते हुने वर्षेनी बढ्दै गएपछि राजमार्गमा ट्रमा सेन्टर थप्न लागिएको हो ।

यी लगायतका योजनालाई मुर्तरुप दिन सरकारले स्वास्थ्य तर्फ ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । ‍‍‍‍

यस्तै बजेटमार्फत सरकारले सबै स्थानीय तहमा एक कृषि र एक पशु सेवा प्राविधिको व्यवस्था गरेको छ । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटले महाकाली सिँचाइ आयोजनालाई उच्च महव्व दिँदै राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ र १० अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शैक्षिक पत्र धितोमा राखेर तथा वैदेशिक रोजगारीमबाट फर्किएकालाई समेत सहुलियतपुर्ण ऋण दिने योजना असफल भए पछि सरकारले सहकारीमार्फत ऋण दिने नयाँ योजना ल्याएको छ । बजेटमार्फत कृषि तथा साना व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले ३ अर्ब बजेट विनियोजन गरेको छ ।

यस्तै माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने बजेटमा उल्लेख छ ।
यस्तै नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याइने योजना पनि आगामी आर्थिक वर्षको बजेटमा परेको छ । यस्तै सबै फुसका छाना प्रतिस्थापन गर्ने नयाँ कार्यक्रम समेत अघि सारेको छ । यसका लागि ३ वर्ष लाग्ने भन्दै यसपटक ३ अर्ब ५० करोड बजेट छुट्याइएको छ ।

सरकारले हरेक वर्ष बजेटमार्फत नयाँ कार्यक्रम सार्व‍जनिक गरे पनि ती कार्यक्रम कार्यन्वयनको पाटो भने कमजोर हुने गरेको छ । त्यसैले सरकारले यसपटक ल्याएका यी नयाँ कार्यक्रम पनि विगतका जस्तै कागजमै सिमित हुने हुन् कि भन्ने शंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *