राजनीति

बजेटले कोरोना प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने कांग्रेसको निष्कर्ष

हिमालय टिभी
२०७७ जेठ १६ गते १९:०३
बजेटले कोरोना प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने कांग्रेसको निष्कर्ष

१६ जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ ।

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो । ‘सरकारकाले बजेट प्रचारमुखि मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन् । जनताको जीवनरक्षा गर्ने खालको छैन् । हामी खर्चको कटौतीको प्रस्ताव गर्छौँ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नुभयो ।

बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशिलता नदेखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन् । आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ । त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ । यतापट्टी सरकारको सजकता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन् । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ ।’’

पूर्व अर्थमन्त्री समेत रहनुभएका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताउनुभयो । भाषण मिठो भएपनि कार्यान्वय क्षमता बजेटले नराख्ने उहाँले बताउनुभयो ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरु समेटिन नसकेको बताउनुभयो । अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भिर नदेखिएको उहाँले बताउनुभयो ।

अर्का नेता मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पुरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताउनुभयो ।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेका नेताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्