Main News

उच्चस्तरीय समितिद्वारा पाँच जनाको ज्यान जाने सोती घटना छानबिन शुरु

हिमालय टिभी
२०७७ जेठ १६ गते १३:१२
उच्चस्तरीय समितिद्वारा पाँच जनाको ज्यान जाने सोती घटना छानबिन शुरु

१६ जेठ, २०७७, जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ ।

समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापनपत्र बुझदै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेश आधारमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनेसमेत बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजीकार्य जारी रहेको सन्देश पठाएको समेत संयोजक बस्नेतले जानकारी दिनुभयो । मृतकको शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिनुभयो । सो समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी रहेका छन् ।

यही जेठ १० गते चौरजहारी नगरपालिका–८ सोतीमा भएको सो घटनामा नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजीकार्य जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *