आर्थिक

गत वर्ष र आगामी वर्षको बजेटमा यस्ता छन् भिन्नता

हिमालय टिभी
२०७७ जेठ १५ गते १९:४१
गत वर्ष र आगामी वर्षको बजेटमा यस्ता छन् भिन्नता

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण उत्पन्न विषम परिस्थितिसँग मुलुक जुधिरहेको फरक पृष्ठभूमिमा आएको बजेटका प्राथमिकताका क्षेत्रहरु पनि बदलिएका छन् । स्वभावैले क्षेत्रगत रुपमा रकम विनियोजनमा पनि भिन्नता आएको छ । चालु आर्थिक वर्ष स्वास्थ्य, शिक्षा, कृषि, श्रम र रोजगारीका क्षेत्रमा बजेट बढाइएको भएपनि युवा तथा खेलकुद्, शहरी विकास तथा खानेपानीतर्फको बजेटमा भने कटौति गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटले चरम गरिबीको अन्त्य र पिछडिएको क्षेत्र वर्ग र समुदायको शीघ्र उत्थान गर्दै सामाजिक सुरक्षा विस्तारसहित लोककल्याणकारी राज्य व्यवस्था निर्माणलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक र कृषि, उद्योग, पर्यटन लगायत आर्थिक पूर्वाधार विकास, रणनैतिक महत्वका पूर्वाधार संरचनाको विकास तथा अधुरा आयोजनाको कार्यान्वयनलाई चालु आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको थियो ।

तर, आगामी आर्थिक वर्षको बजेटमा भने केही प्राथमिकताका क्षेत्र बदलिएका छन् । कोरोनाको कारण उत्पन्न स्वास्थ्य समस्यालाई संवोधन गर्नेगरी स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । सरकारको प्राथमिकतामा शिक्षा र रोजगारी पनि परेको छ ।

प्राथमिकीकरण अनुसार बजेट विनियोजनमा पनि फरकपन आएको छ । चालु आर्थिक वर्षमा स्वास्थ्यतर्फ ६८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष यसलाई २१ अर्ब ९१ करोडले बढाएर ९० अर्ब ६९ करोड रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, सरकारले शिक्षातर्फको बजेट पनि बढाएको छ । चालु आर्थिक वर्षको बजेटले शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षको लागि भने १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको क्षेत्र श्रम तथा रोजगारीमा पनि बजेट बढाइएको छ । यो क्षेत्रमा चालु आर्थिक वर्षमा ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको बजेटले त्यसलाई बढाएको छ । साथै यस क्षेत्रलाई रोजगारी सिर्जना हुनसक्ने अन्य क्षेत्रसंग समन्वय गरेर अघि बढाइएको छ ।

सबैजसो बजेटमा प्राथमिकतामा परेको तर, अपेक्षा अनुरुपको उपलब्धि हासिल हुन नसकेको क्षेत्र हो कृषि । बजेटले यस क्षेत्रमा विनियोजित रकमलाई पनि बढाएको छ । चालु आर्थिक वर्ष ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको यस क्षेत्रमा अहिलेको बजेटले ६ अर्ब ४० करोड रुपैयाँ बढाएर ४१ अर्ब ४० कारेड रुपैयाँ पुर्याएको छ ।

चालु आर्थिक वर्ष सरकारको उच्च प्राथमिकतामा परेको र मुलुकमा कोरोना संक्रमण हुनुपूर्व नै थलिएको पर्यटन क्षेत्र भने आगामी आर्थिक वर्षको बजेटको कम प्राथमिकतामा परेको छ ।
आगामी आथिृक वर्षपनि सरकारले पर्यटन पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । साथै कोरोनाले थलिएको यस क्षेत्रको दीघृकालीन उत्थानको लागि विभिन्न प्याकेज कार्यक्रम पनि अघि सारेको छ ।

त्यसैगरी, सरकारले सामाजिक सुरक्षा र नागरिक संरक्षण तर्फको बजेट पनि बढाएको छ । चालु आर्थिक वर्षमा ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकोमा अहिलेको बजेटले त्यसलाई बढाएर ६७ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।

सरकारले खानेपानी तथा सरसफाइ तर्फको बजेटमा भने कटौति गरेको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई घटाएर अहिलेको बजेटले ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको हो ।

त्यस्तै, हवाइ पूर्वाधारतर्फ चालु आर्थिक वर्ष १५ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएकोमा अहिलेको बजेटमा त्यसलाइृ बढाएर १९ अर्ब ३८ करोड रुपैयाँ पुर्याइएको छ ।
आवास भवन तथा शहरी पूर्वाधारतर्फ आगामी आर्थिक वर्षको बजेटमा केही कटौति गरिएको छ । चालु आर्थिक वर्ष यस क्षेत्रको बजेट ४० अर्ब ७३ करोड रुपैयाँ थियो । तर, आगामी आर्थिक वर्ष यस क्षेत्रलाई ३७ अर्ब ८० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको युवा तथा खेलकुद् क्षेत्रमा आगामी आर्थिक वर्षको बजेटमा ६३ करोडले घटाएर २ अर्ब ३६ कारोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *