आर्थिक

नयाँ बजेटः केकस्ता वस्तुमा बढ्यो कर, कस्ता क्षेत्रमा गरियो खर्च कटौती ?

हिमालय टिभी
२०७७ जेठ १५ गते १९:२५
नयाँ बजेटः केकस्ता वस्तुमा बढ्यो कर, कस्ता क्षेत्रमा गरियो खर्च कटौती ?

काठमाडौं । सरकारले बजेटमार्फत कर बढाएपछि पेट्रोल, डिजेल, सुनका गहना लगायतका वस्तुको भाउ महंगो हुने भएको छ ।

आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भ्याट लाग्‍ने सामानहरुमा कर बढाउने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्क वृद्धि गरिएको छ। सुन र सुनका गरहनामा पनि भन्सार शुल्क बढाइएको छ ।

यस्तै सरकारले हरेक वर्षझैं आगामी वर्षको बजेटमार्फत चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम कर पनि बढाएको छ । सरकारले वन पैदावार शुल्क खारेज गरेको छ । सरकारले विशेष उद्योगहरुलाई आयकरमा २५ प्रतिशत छुट दिने समेत व्यवस्था मिलाएको छ ।

त्यसैगरी सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबैको भत्ता साउनदेखि खारेज गरिने घोषणा गर्नुभएको हो । मन्त्री खतिवडाले अतिरिक्त पाउने बैठक, खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको जानकाी दिनुभयो ।

यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा पनि उल्लेख्य बजेट कटौती गरिएको छ । बजेट निर्माणको क्रममा चर्को आलोचनामा परेको प्रत्यक्ष निर्वाचित सांसदले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ ।

तर बजेट भने केही घटाइएको छ । यसका लागि ६ अर्ब ६० करोड रकम विनियोजन छ । जसअनुसार प्रत्येक निर्वाचन क्षेत्रलाई ४-४ करोडका दरले विनियोजन हुनेछ । गत आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ६–६ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *