Main News

थप ११४ जनामा कोरोना फेला, संक्रमितको संख्या ८८६ पुग्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १४ गते १६:३४
थप ११४ जनामा कोरोना फेला, संक्रमितको संख्या ८८६ पुग्यो (भिडियोसहित)

काठमाडौं । बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिने सबै सप्तरीका हुन् । यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामो कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ ।

दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उहाँले बताउनुभयो ।

अहिले देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा ७३, प्रदेश नम्बर २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती प्रदेशमा ११ र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्र्चाज भएका छन् । बुधबार मात्रै नारायणी अस्पतालबाट २८ जना, कोसी अस्पतालबाट ४ र शुशिल कोइराला पर्खर क्यान्सर अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।

पीपीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ११ हजार २ सय ५२, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६९, बागमती प्रदेशमा २४ हजार ६ सय ८० र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १७ हजार ४ सय ३९, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ४५ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै गरी प्रदेश नम्बर १ मा १ हजार ८ सय ६८, प्रदेश नम्बर २ मा १२ हजार १ सय ८३, बागमती प्रदेशमा १ हजार ३ सय ९८ र गण्डकी प्रदेशमा १ हजार ९ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २६ हजार ७ सय २९, कर्णाली प्रदेशमा ९ हजार ६ सय ९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ५ सय ८८ गरी देशभरी ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *