Main News

यी तीन प्रतिनिधि घटनाः जसले समाज र सरकारलाई यसरी गिज्याइरहेछ (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १४ गते १२:१८
यी तीन प्रतिनिधि घटनाः जसले समाज र सरकारलाई यसरी गिज्याइरहेछ (भिडियोसहित)

पछिल्लो चार दिनमा भएका केही घट्नाले समाजको कलुसित मानसिकता र सरकारको दावालाई छताछुल्ला पारिदिएको छ । रुकुम र काठमाडौंमै भएका घट्नाले समाज कति पछौटे, पाखण्डी छ र सरकार कसरी झुट बोलिरहेको छ भनेर प्रष्ट पार्छ ।

पहिलो घटना काठमाडौं कीर्तिपुर, दोस्रो घटना जाजरकोटका तीन युवाको हो र तेस्रो घटना काठमाडौं दरबार मार्गको हो । यी घटनाले आधुनिक अनि सभ्य दावी गर्ने समाज र जनमुखी दावी गर्ने सरकारको कुरुप चित्रको पोल खोल्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोही पनि भोकै नमर्ने दावी गर्दै आउनुभएको छ । आफ्ना हरेक जसो भाषणमा यो दोहोर्याईरहनुहुन्छ । उहाँका अनुसार त अब समस्या परेर सडकमा आउने मान्छे नै छैनन । तर तथ्यले प्रधानमन्त्रीको दावीलाई गिज्याईरहेको छ ।

यो तस्विर धादिङका सूर्यबहादुर तामाङको हो । काठमाडौंको कीर्तिपुरमा मृत भेटिएका तामाङ भारी बोक्ने काम गर्नुहुन्थ्यो र सडकमै बस्नुहुन्थ्यो । तर आइतबार उहाँ मृत भेटिनुभयो, सडकमा पल्टिएको अवस्थामा भेटिएका सूर्यबहादुरको साथमा जिउने सहारा नाम्लो थियो । स्थानीयका अनुसार वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्ने सूर्यबहादुरले दुई महिनाअघि लकडाउन भएपछि काम पाउनुभएन । खान नपाएरै सूर्यबहादुरको ज्यान गएको प्रहरी र स्थानीयको अनुमान छ । सूर्यबहादुरको यो मृत्युले शासकको दावी र यथार्थ फरक छ भन्ने प्रष्ट हुन्छ ।

प्रधानमन्त्री ओलीले समानता र समृद्धिको भाषणसहित अब कसैले रगत बगाउनु नपर्ने भन्दै कविता लेखिरहनुभएको छ । उहाँका अनुसार अब नेपाल अघि बढ्यो बढ्यो । तर घट्नाले नेपाल अघि बढ्दैछ कि पछि फर्किरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ ।

यो घटनाका कारण अहिले तीन युवक अहिले यो संसारमा छैनन् । जाजरकोटको भेरी नगरपालिकाका यी तीन युवा पश्चिम रुकुमको चौर जहारीमा मारिए, उनीहरु जातीय विभेदको शिकार भए । उनीहरु मरेर गए तर सभ्य दावी गर्ने समाजले कलंक बोक्यो । विवाहका लागि प्रेमिका लिन गएका नवराज विकलाई चौरजहारीमा कथित ठकुरी थरकी युवतीलाई बिहे गर्न खोजेको भनेर मारियो । साथ दिन गएका १८ मध्ये अरु दुई जना पनि मारिए । अझै तीन जना भेरी नदीमा बेपत्ता छन। घट्नापछि पीडित पक्ष न्यायको खोजीमा छ । यो घट्नाले मुलुकमा जति सुकै परिवर्तनको बाजा बजाए पनि खासमा परिवर्तन भएकै छैन, सामन्तवाद, जातिवाद कायमै छ, कानूनी होइन, जंगली राज छ भन्ने पुष्टि हुन्छ ।

यो घटना काठमाडौंको दरबार मार्गको हो र उहाँ हुनुहुन्छ, धादिङको गंगा जमूना गाउँपालिका घर भई सामाखुशी बस्दै आएका डम्बरबहादुर सिम्खडा । सिम्खडा श्रीमतीलाई डायलासिस गर्न ठेलामा राखेर वीर अस्पताल लैजाँदै हुनुहुन्छ । लकडाउनका कारण गाडी चलेका छैनन, ट्याक्सीमा लैजान उहाँसँग पैसा भएन, त्यसैले ठेला नै उहाँको सहारा बन्यो । यो घटनाले पनि उपचार नपाएर कोही मर्दैन भन्ने सरकारको दावीलाई गिज्याइरहेको छ ।

यी प्रतिनिधि घटना मात्रै हुन,यस्ता नदेखिएका र नलेखिएका थुप्रै घट्ना छन । तर विडम्बना यति बेला देशमा आफूलाई खाँटी कम्युनिष्ट दावी गर्ने, जातीय र वर्गीय विभेदको विरोध गर्छौं, सर्वहाराको पक्षमा छौं भन्नेकै सरकार छ । त्यसैले अहिले जो ढले जो गले । खासमा उनीहरु ढलेका र गलेका होइनन, उनीहरुको सपना पुरा गर्छौं भनेर ढाँट्नेहरु ढलेका छन, सत्तामै बसेर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *