समाज

पेट्रोलियम पाइपलाइन विछ्याउने २४ बर्ष पूरानो सपना पूरा

हिमालय टिभी
२०७६ भदौ २४ गते १२:४६
पेट्रोलियम पाइपलाइन विछ्याउने २४ बर्ष पूरानो सपना पूरा

काठमाडौं । नेपाल–भारतवीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विछ्याउने २४ बर्ष पुरानो सपना आज पुरा भएको छ ।
दुई देशका प्रधानमन्त्रीले आज भारतको मोतिहारीबाट अमलेखगञ्जसम्मको पाइपलाइनको हाइटेक प्रविधिमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ । दक्षिण एसियामै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सम्पन्न भएपछि दुवै देशका राजनीति नेतृत्व भविष्यमा यस्तै साझेदारी अरु योजना पुरा विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी बटन थिचेर नेपाल(भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्द्घाटन गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा बटम थिचेर पाइपलाइनबाट डिजेल पठाउनुभयो । र, काठमाडौंमा बटम थिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले अमलेखगंज डिपोमा डिजेल प्राप्त गर्नुभयो ।

अनि अमलेखगंजमा प्राप्त डिजेल भारतीय आयल निगमका प्रतिनिधिले नेपाल आयाल निगमका प्रतिनिधिलाई हस्तान्तरण गरी पाइपलाईनको औपचारिक शुरुवात भयो ।

तर, यो सपना पूरा हुन २४ वर्ष लाग्यो । नेपाल र भारत दुवै मुलुकले प्राथमिताकासाथ अघि बढाएको पेट्रोलियम पाइपलाईन इतिहास लामो छ ।

सन् १९९५ मा अन्तरदेशीय पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच समझदारी अर्थात एमओयू भएको थियो । यहीँबाट शुरु भएको हो(पेट्रोलियम पाइपलाइनको चर्चा । चर्चा भए पनि काम चाहिँ हुन सकेको थिएन ।

एमओयू भएको करिव २० बर्षपछि केही प्रगति भयो । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा पाइपलाइन आयोजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

भारतीय प्रधानमन्त्रीको प्रतिबद्धता पछि यसले गति लियो । र, सन् २०१५ को अगस्टमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भयो ।

र, २०१७ मा निर्माण शुरु भयो । र, डेढ बर्षमा काम सकियो । आयोजनाको समयसीमा भन्दा अगाडि नै काम सकियो ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन आयोजनामा दुई अर्ब ७५ करोड रुपियाँ खर्च भएको छ । यसमा दुई अर्ब भारत सरकारको र ७५ करोड नेपाल आयल निगमको लगानी हो । पाइपलाइनका लागि दुई अर्ब र अमलेखगञ्ज डिपो बनाउन ७५ करोड रुपियाँ लगानी भएको हो ।

प्राविधिकपक्षको कुरा गर्दा मोतिहारी(अमलेखगंज पाइपलाइनको लम्बाइ ६९ दशमलब ९ किलोमिटर छ ।
जसमा ३२ दशमलव ७ किलोमिटर भारततिर र ३६ दशमलव २ किलोमिटर नेपालमा पर्दछ ।

यो पाइपलाइनबाट १० दशमलव ७५ इन्च व्यासको पाइपबाट प्रतिघन्टा ३ लाख लिटर डिजेल आपूर्ति हुनेछ । दैनिक २० घन्टा पाइपलाइन सञ्चालन गर्दा चार हजार किलोलिटर डिजेल ल्याउने क्षमताको पाइपलाइन छ । तर, अहिले १८ घण्टा मात्रै संचालनमा ल्याइने बताइएको छ ।

अमलेखगञ्ज डिपोमा तेल भण्डारणको लागि ४१ लाख किलोलिटरका दुईवटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की बनाइएको छ । जहाँ एकै पटकमा २४ वटा गाडीले इन्धन भर्न मिल्छ । र, दैनिक तीन सय गाडीले तेल भर्न मिल्नेछ ।

अब मोतिहारी(अमलेखगंज पाइपलाइन विस्तारमा नजर रहनेछ । अमलेखगञ्जसम्मको पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने गरी नेपाल(भारतवीच छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्