खेलकूद

एसीसी यू–१९ कप क्रिकेटमा नेपालद्वारा यूएई १६० रनले पराजित

हिमालय टिभी
२०७६ भदौ २४ गते ११:०३
एसीसी यू–१९ कप क्रिकेटमा नेपालद्वारा यूएई १६० रनले पराजित

काठमाडौं । अण्डर नाइन्टिन एसिया कपको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । नेपालले यूएईलाई १६० रनको भारी अन्तरले पराजित ग‌र्‌यो ।

ब्याटिङ र बलिङको सन्तुलित प्रदर्शन गरेको नेपालले २८६ रनको लक्ष्य पछ्याएको यूएईलाई १२५ रनमा अलआउट गर्‌यो । सागर ढकालले तीन तथा सुर्य तामाङ र पवन सर्राफले दुई–दुई विकेट लिएपछि यूएई ३४ ओभर दुई बलमा आलआउट भयो ।

ब्याटिङतर्फ यूएईका कुनै पनि खेलाडीले ३० रन कटाउन सकेनन् । यूएईका बृत्य अर्विनले सर्वाधिक २८ रनको योगदान दिए भने आलिसान सराफुले २१ रन जोडे । अन्यले २० रन पनि कटाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो । नेपालको इनिङमा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए ।

नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो । पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए । चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् । त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेल ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।

सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए । आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पु¥याएका थिए ।

कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्