समाज

मेडिकल शिक्षाको नयाँ भर्नाको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने

हिमालय टिभी
२०७६ भदौ १८ गते ११:१२
मेडिकल शिक्षाको नयाँ भर्नाको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने

काठमाडौं । एमबीबीएस, बिडिएस, नर्सिङ लगायत मेडिकल शिक्षाको नयाँ भर्नाको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिन डाक्टर जगदीश अग्रवालले भदौ २१ देखि नै परीक्षा हुने हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा परीक्षा गराउन निर्देशन दिएकाले तोकिएकै मितिमा परीक्षा हुने डिन अग्रवालले बताउनुभयो ।

विभिन्न मागसहित परीक्षा रोक्न विद्यार्थीले आन्दोलन गरिरहेका बेला आईओएमले परीक्षा नरोक्ने प्रष्ट पारेको हो । विद्यार्थीका माग सम्बोधनका लागि छलफल भइरहेको आइओएमले जनाएको छ । तर, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज आन्दोलित विद्यार्थीसँग गरेको वार्ता भने बिनानिष्कर्ष टुंगिएको छ ।

मन्त्रालयका सह(सचिव हरि लम्सालले विद्यार्थीको माग मन्त्रालयभन्दा आइओएमले हेर्नुपर्ने भए पनि समाधानका लागि छलफल भइरहेको बताउनुभयो । आइओएमको परीक्षा नियन्त्रण शाखामा विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेको छ ।

यता, माग पूरा नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीको अडान छ । विद्यार्थीले विभिन्न ११ बुँदे माग सहित भदौ १५ देखि आन्दोलन थालेका हुन् । उनीहरुले आज पनि आइओम परिसरमा प्रदर्शन गरेका थिए ।

सबै विधामा सरकारले तोकेको शुल्कमा पढाउनुपर्ने, तोकेभन्दा बढी शुल्क लिएको गण्डकी मेडिकल कलेजले शुल्क फिर्ता गर्नुपर्ने, यसै शैक्षिक सत्रदेखि ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने लगायतका माग विद्यार्थीको छ । एमबीबीएस, बिडिएस, नर्सिङ, बीआईटी लगायतमा प्रवेश परीक्षाका लागि करिब २० हजारले फारम भरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्