राजनीति

सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफलः सांसद रिजाल

हिमालय टिभी
२०७६ भदौ १ गते ८:३४
सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफलः सांसद रिजाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मीनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताउनुभएको हो । बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उहाँले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै ? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्रीज्यू । त्यति मात्रै होइन संसदले गरेको थियो, कार्यसम्पादन करार अघिल्लो बर्ष । बजेट कार्य सम्पादन करार हो, संसद र सरकारको । पूरा गर्न सक्नुभएन प्रधानमन्त्रीज्यू । यो परीक्षामा असफल भइसक्नुभयो । आउने दिन सफलता प्राप्त होस शुभकामना व्यक्त गर्छु । ”

एक बर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउँदै उहाँले अहिले भने आधार बर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराउनुभयो ।

लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दै उहाँले एकपल्टको लडाईले जीवनभर जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपना नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दै सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । ठिक हो प्रधानमन्त्रीज्यू । यस्तो काम देखेपछि त अर्कोपल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ? यसपल्ट त यही सरकारभन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ताभित्रै कोही तरंगित नभएको होस् । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्