समाज

डुबान समस्यालाई परराष्ट्रले सामान्य रुपमा लिएको गृहसचिव राईको आरोप

हिमालय टिभी
२०७६ साउन २९ गते ११:३७
डुबान समस्यालाई परराष्ट्रले सामान्य रुपमा लिएको गृहसचिव राईको आरोप

काठमाडौं । गृहसचिव प्रेमकुमार राईले सीमा क्षेत्रमा भारतले बनाएका बाँधलाई परराष्ट्र मन्त्रालयले सामान्य रुपमा लिएको भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ ।

संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सचिव राईले परराष्ट्रको भूमिकामाथि प्रश्न उठाउनुभएको हो । बैठकमा गृहसचिव राईले भारतले बनाएको बाँधकै कारण तराई–मधेश डुबानमा पर्ने गरेको बताउनुभयो ।

गृहसचिव राईले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो । चुरेको दोहनमा तत्काल कडाई नगरे भविष्यमा झन ठुलो क्षति हुने तर्फ पनि उहाँले सचेत गराउनुभयो ।

गृहसचिव राईले सीमा स्तम्भको पनि उचित संरक्षण नभएको र बाढीले बगाएको ठाउँमा राख्न नसकिएको पनि स्वीकार गर्नुभयो । परराष्ट्र सचिव शंकर दास बैरागीले डुबान समस्या हेर्न दुई देशबीच स्थायी प्रकृतिको संयन्त्र नै बनेको र संयन्त्रले दिएको प्रतिवेदनका आधारमा सुझाव कार्यान्वयनका लागि लेखि पठाईएको जानकारी गराउनुभयो ।

सीमा सम्बन्धी सबै समस्या नसुल्झेसम्म सीमा सम्बन्धी दस्तावेजमा पनि हस्ताक्षर गर्न नहुने भनेर रोकेको पनि उहाँले जानकारी दिनुभयो ।

समितिले डुबान समस्या तथा नेपाल भारत सीमावर्ती बाँधका सम्बन्धमा गृह, परराष्ट्र, सशस्त्र प्रहरी बल तथा नापी विभागसंग छलफल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्