समाज

पोखरामा एघार ठाउँमा चोरी एउटै चोर, चोरी गरेको आरोपमा थापा पक्राउ

हिमालय टिभी
२०७६ साउन २९ गते ९:२५
पोखरामा एघार ठाउँमा चोरी एउटै चोर, चोरी गरेको आरोपमा थापा पक्राउ

पोखरा । पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयमा शिलशिलेवार रुपमा चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका सामान किन्ने व्यवसायी पनि समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दुबैजनालाई आज सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाका वडा कार्यालयमा भएका शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा काठमाडौँ घर भएका ५१ वर्षीय किशोर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

चोरीको सामान किन्ने काठमाडौँको कंलकीस्थित कम्प्युटर सोलुसनका सञ्चालक ३६ वर्षीय रुपचन्द्र गोपाली पनि पक्राउ परेका छन् । ०७५ जेठ २ गते १२ नम्बर वडा कार्यालयमा पहिलो पटक चोरी भएको थियो ।

थापाले क्रमशः अन्य वडा कार्यालयमा चोरी गर्दै आंतक मच्चाएका थिए । उनले पछिल्लो समय साउन २१ गते वडा नम्बर ६ को कार्यालयमा चोरी गरेको प्रहरीले जनाएको छ ।

११ वटा वडा कार्यालयबाट १७ थान विभिन्न ब्रान्डका कम्प्युटर मोनिटर, ९ थान सिपियु र ३ थान ल्यापटप चोरी भएको थियो ।

सिसी क्यामेरामा कैद भएको भिडियो फुटेजको आधारमा प्रहरीले थापालाई समाउन सफलता प्राप्त गरेको हो । फुटेजमा देखिएको हुलियाको आधारमा थापालाई सहिद चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट लागु औषध समेत बरामद भएको प्रहरीको दाबी छ ।

पोखरा १० कालिका चोक बस्दै आएका थापाको कोठामा छापा मार्दा चोरीका सामान फेला नपरे पछि प्रहरी अनुसन्धानका लागि काठमाण्डौ सम्म आइ पुगेको थियो । काठमाडौँ कंलकीमा कम्प्युटर व्यवसाय गर्ने गोपालीले थापाले चोरेका सामान खरिद गरेको तथ्य खुलेपछि पक्राउ गरीएको हो ।

थापाले यसअघि पनि चोरी मुद्दामा २ पटक सजाय भोगी सकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्