समाज

प्रतिनिधिसभाबाट तीन वटा विधेयक सर्वसम्मतिले पारित

हिमालय टिभी
२०७६ साउन २६ गते १२:५५
प्रतिनिधिसभाबाट तीन वटा विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाले तीन वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकले प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक, २०७६ र वातावरण संरक्षण विधेयक, २०७६ पारित गरेको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयकका अनुसार प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायव महानिरीक्षक डीआईजीले गर्ने छन् ।

यस्तै, प्रहरी समायोजन विधेयकमा पनि प्रदेश प्रहरीमा समायोजन भएर जाने प्रहरीका लागि कुनै बढुवाको प्रावधान राखिएको छैन । तह बढुवा गर्दा प्रहरीभित्रै अन्तरविरोध हुने भन्दै सरकारले ग्रेडलाई प्राथमिकता दिएको छ ।

यस्तै, आजै पारित वातावरण संरक्षण विधेयकमा वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी कार्यलाई राष्ट्रियस्तरमा प्रभावकारीरुपमा सञ्चलन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभाबाट पारित तीनवटै विधेयक अब संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पठाइनेछ । प्रतिनिधिसभाको आजकै बैठकले अन्य तीन वटा विधेयक पनि स्वीकृत गरेको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले ल्याएको विरुवा संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र विउ विजन दोस्रो संशोधन विधेयक, २०७५ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । यसबाहेक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ पनि स्वीकृत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *