खेलकूद

समस्या नै समस्यामा नेपाली क्रिकेट

हिमालय टिभी
२०७६ साउन २५ गते ९:२७
समस्या नै समस्यामा नेपाली क्रिकेट

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान निलम्बन भएपछि नेपाली क्रिकेट अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ । कुनै पनि काम गर्नु पर्‍यो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी वा एशियाली क्रिकेट परिषद एसीसीको स्वीकृति कुर्नुपर्छ ।

यो अवस्थामा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै कदम चाल्न नसक्ने स्थिति छ, जसको प्रत्यक्ष असर नेपाली क्रिकेट टिमको तयारीमा परेको छ ।

१९ वर्षमुनिका क्रिकेटर आउँदो महिना श्रीलंकामा एसिया कपको तयारीमा जुटेका छन् । तर उनीहरुलाई समस्या धेरै नै छन् । एक त वर्षातको बेलामा तयारी गर्नु पर्ने बाध्यता छ भने तयारीका लागि नेपालसँग समय पनि निक्कै कम छ ।

नेपाली टिममा खेलाडी र एक जना प्रशिक्षकबाहेक कोही छैनन् । टिममा सपोर्टिङ स्टाफ राख्न पनि एसीसीकै अनुमति चाहिन्छ । टिममा प्रशिक्षकको अलावा व्यवस्थापक, फिजियो, ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षक, फिटनेश ट्रेनरलगायतका सपोर्टिङ स्टाफको अभाव खड्किएको प्रशिक्षक विनोद दासको भनाइ छ ।

अभ्यासका लागि पिच तयार नभएकाले अहिले खेलाडीले फिटनेस र फिल्डिङको मात्र अभ्यास गरिरहेका छन् ।
ब्याटिङ र बलिङ प्रशिक्षणका लागि अझ केही दिन लाग्नेछ । क्यान नभएकाले यी सबै काममा राष्ट्रिय खेलकुद परिषद राखेपले १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट टीमलाई सहयोग त गरिरहेको छ । तर त्यो प्रयाप्त छैन ।

प्रतियोगिताका लागि खेलाडीको नामावली शनिबारसम्ममा पठाइसक्नु पर्ने थियो, तर प्रशिक्षण शिविर नै शुरु नभएकाले खेलाडीको अन्तिम छनौट गर्न सकिएको छैन । त्यसैले नेपालले एसीसीसँग थप समय मागेको छ । पिच तयार भएपछि छनोट खेलहरु खेलाएर खेलाडी छनोट गर्ने तयारी छ ।

समस्याकै समस्याका बीचमा तयारी गरेर श्रीलंका पुग्ने नेपाली टिमलाई राम्रो प्रदर्शन गर्नुपर्ने चुनौति छ । प्रतिद्वन्द्वीहरु निकै बलिया छन् । नेपालले एसियाका पाँच वटा टेस्ट राष्ट्रसँगै अन्य दुई बलिया टिमसँग पनि खेल्नु पर्नेछ ।

आशा गरौं अभ्यासका क्रममा भोगेको समस्यालाई भुलेर युवा क्रिकेटरले श्रीलंकामा राम्रो प्रदर्शन गर्ने छन् र नेपालको नाम उँचो बनाउने छन् । हिमालय टेलिभिजनका लागि क्यामरामा विनोद थापाका साथ अनन्त वाग्ले काठमाडौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्