जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा सुनुवाई शुरु

हिमालय टिभी
२०७६ साउन २३ गते १०:३६
जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा सुनुवाई शुरु

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाई शुरु भएको छ ।

४५ पटकसम्म मुद्दाको पेशी तोकिए पनि विभिन्न बहानामा स्थगित भएको सुनुवाई ४६ औँ पटकको पेशीमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानामा इजलासमा सुनुवाई सुरु भएको छ ।

गएको जेठ २३ गते सर्वोच्चले अख्तियारलाई जोशीविरुद्ध मुद्दा चलाउने निर्णयको सक्कल फाइल उपलब्ध गराउन भनेको थियो । आयोगबाट जवाफ आएपछिको दोस्रो पेशीमा सुनुवाई शुरु भएको छ।

आयोगले जोशीविरुद्ध २०६० माघ २८ गते विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा १३ वर्ष कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो । तत्कालीन विशेष अदालतका न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ कात्तिक ३० गते अख्तियारले म्याद गुजारेर दर्ता गरेको भन्दै सफाइ दिएको थियो ।

विशेषको आदेशविरुद्ध अख्तियारले सर्वोच्चमा रिट हालेको थियो । तर सर्वोच्चले विशेषमै फर्काइदिएपछि २०६६ साउन १० मा विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेषले जोशीसँग २ करोड १६ लाख स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । विशेष अदालतको फैसलाविरुद्ध जोशी सर्वोच्च गएपनि अहिलेसम्म मुद्दाको सुनुवाई हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *