खेलकूद

ग्लोबल टी ट्वेन्टी क्रिकेटमा डेब्यु म्याचमा नेपाली बलरहरु सन्दीप र सोमपाल

हिमालय टिभी
२०७६ साउन १९ गते ६:२९
ग्लोबल टी ट्वेन्टी क्रिकेटमा डेब्यु म्याचमा नेपाली बलरहरु सन्दीप र सोमपाल

काठमाडौं । नेपाली बलरहरु सन्दीप लामिछाने र सोमपाल कामीले क्यानडामा जारी ग्लोबल टी ट्वेन्टी क्रिकेटमा डेब्यु म्याच खेलेका छन् ।

गएराती भएका खेलमा सन्दीप र सोमपालले राम्रो प्रदर्शन गर्न नसक्दा दुबै नेपाली खेलाडी सम्मिलित टिमले हार व्यहोरेका छन् । सोमपाल बलिङ र व्याटिङ दुबैमा जम्न सकेनन् ।

विनिपेग हक्सबाट खेलिरहेका सोमपालले २ ओभर बलिङ गरी ३३ रन खर्चिएर विकेट विहिन भए । ८औं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ५ बल ब्याटिङ गर्दै एक रनमा अविजित रहे । सोमपालको टिम विनिपेग हक्सविरुद्ध एक सय ९५ रनको लक्ष्य पच्छ्याएको एड्मन्टन रोयलले १४ बल बाँकी छर्दै ८ विकेटले विजयी भयो ।

यस्तै सन्दीप लामिछानेले डेब्यु म्याचमा राम्रो सुरुवात गर्न सकेनन् । ब्राम्प्टोन वल्भ्सविरुद्धको म्याचमा उनले एक विकेट लिए पनि महँगा सावित भए । पूरा चार ओभर बलिङ गरेका सन्दीपले ४४ रन खर्चिएर न्यूजिल्यान्डका कोलिन मुनरोलाई आउट गरे ।

२ सय २३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको सन्दीपको टिम टोरन्टो नेसनल्सले २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन मात्र बनाउन सक्यो । उनको टीम ११ रनले पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्