खेलकूद

अष्ट्रेलियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

हिमालय टिभी
२०७६ साउन १२ गते ६:४५
अष्ट्रेलियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

काठमाडौं । आउँदो वर्ष अष्ट्रेलियामा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकपको एशियाली छनोटमा आज सिंगापुरसित ८२ रनले हारेसँगै नेपालको आउँदो विश्वकप खेल्ने संभावना सकिएको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप खेलेको नेपाल त्यसपछिका विश्वकपमा छनोट हुन सकेको छैन । आजको खेलमा नेपाललाई हराउने सिंगापुरले भने ट्वेन्टी–ट्वेन्टी विश्वकपको विश्व छनोटमा स्थान बनाएको छ ।

सिंगापुरमा भएको खेलमा जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ औं ओभरको अन्तिम बलमा १ सय ९ रनमा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए ।

त्यस्तै दीपेन्द्र सिंह ऐरी २३, कप्तान पारस खड्का १२, सोमपाल कामी ११ रनमा आउट भए । नेपालका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन बनाउन सके । बलिङतर्फ सिंगापुरका सेल्लाडोरे विजयाकुमारले चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ् गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसका लागि टीम डेविडले ७७, रोहन रंगराजनले ४९ तथा मनप्रित सिंहले ४२ रन बनाए ।

बलिङमा नेपालका अविनाश बोहराले चार तथा करन केसीले दुई विकेट लिए । तीन महिनापछि युएईमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्ने १४ टिम मध्ये शीर्ष ६ टिमले विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्