Political Hightlights

विप्लवसँग वार्ताका लागि सरकारको यस्तो सर्त

हिमालय टिभी
२०७६ साउन २ गते १३:२१
विप्लवसँग वार्ताका लागि सरकारको यस्तो सर्त

काठमाडौ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ताका लागि शर्त अघि सारेको छ ।

अनौपचारिक छलफलहरुमा विप्लव समूहले वार्ताका लागि राखेका शर्त अस्वीकार गर्दै सरकारले वार्ताका लागि आफ्नोतर्फबाट शर्त अघि सारेको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता जनाए मात्र वार्ता हुने बताउनुभयो । विप्लव समूहले शक्ति सञ्चयका लागि वार्ता गर्न खोजेको सरकारको आशंका छ ।

विप्लव समूहबाट संविधान, राज्य व्यवस्थामाथि नै प्रश्न उठाउने गरेको भन्दै त्यसलाई सरकारले अस्वीकार गरेको छ । अनौपचारिक छलफल भैरहे पनि सरकार विप्लव समूहसँग बढी संशकित रहेको देखिएको छ ।

विप्लव समूहले तत्कालीन माओवादी जनयुद्धको बेला जस्तै वार्तालाई दाउपेचका रुपमा प्रयोग गर्न खोजेको सरकारको आशंका छ ।

होहल्ला गरेर विप्लव समूहले लाभ लिने खोजेको भन्दै विगतको युद्धबाट आफूहरुले पनि सिकेको भन्दै उसका रणनीतिक चालबाट सरकार सचेत रहेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

पछिल्लो समय सरकार–विप्लव समूहबीच अनौपचारिक छलफल चलिरहेका बेला सरकारको आक्रामक जस्तो देखिने धारणा आएको छ । र, कतिपयले यसलाई वार्ताको वातावरण बनाउने प्रयासका रुपमा व्याख्या गरेका छन ।

सरकारले वार्ताको सहज अवस्था निर्माण गर्न भन्दै विप्लव समूहका उच्च तहका नेतालाई पक्राउ नगर्न प्रहरी प्रशासनलाई आन्तरिक सर्कुलरै जारी गरिसकेको भने प्रधानमन्त्रीका तर्फबाट पनि दूतहरु मार्फत पहल भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्