आर्थिक

नयाँ कर प्रणाली लागू, विवाहित र अविवाहितका लागि फरक दर

हिमालय टिभी
२०७६ साउन २ गते ११:५६
नयाँ कर प्रणाली लागू, विवाहित र अविवाहितका लागि फरक दर

काठमाडौं । सरकारले बजेटमार्फत हेरफेर गरेको नयाँ आयकर दर साउन १ गतेबाट लागु भएको छ । ।

सरकारले विवाहित र अविवाहितलाई फरक फरक करको दर तोकेको छ । यदि तपाई अविवाहित हुनुहुन्छ र तपाईको वार्षिक आम्दानी ४ लाखसम्म छ भने तपाईले कुल कमाईको १ प्रतिशत कर तिर्नुपर्नेछ । यसको अर्थ तपाईको वार्षिक कमाई ४ लाख छ भने वर्षमा ४ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ ।

वार्षिक कमाई ४ लाखदेखि ५ लाख रुपैयाँसम्म छ भने सुरुको ४ लाखसम्मको १ प्रतिशतवापत ४ हजार र त्यसपछिको १ लाखको १० प्रतिशतले १० हजार गरी जम्मा १४ हजार कर तिर्नुपर्नेछ ।

वार्षिक ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म कमाइमा सुरुको ४ लाखसम्म १ प्रतिशत र त्यसछिको १ लाखमा १० प्रतिशत र त्यसपछिको २ लाखमा २० प्रतिशतले कर बुझाउनुपर्नेछ । ७ लाखसम्म वार्षिक कमाउने अविवाहित व्यक्तिले वार्षिक ५४ हजार रुपैयाँ कर तिर्नुपर्नेछ । तर तपाईको कमाई वार्षिक ७ लाखभन्दा बढी छ भने तपाईले अझ बढी कर तिर्नुपर्ने हुन्छ ।

सरकारको नयाँ नियम अनुसार वार्षिक ७ लाखदेखि २० लाख रुपैयाँसम्म कमाउने व्यक्तिले ७ लाखसम्मको ५४ हजार कर र त्यसपछिको कमाइमा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

यसको मतलब वार्षिकरुपमा तपाईको कमाई २० लाख छ भने तपाईले ७ लाखसम्मको कमाईवापत ५४ हजार रुपैयाँ र त्यसपछिको १३ लाखको ३० प्रतिशतले ३ लाख ९० हजार रुपैयाँ गरी जम्मा ४ लाख ४४ हजार रुपैयाँ कर सरकारलाई बुझाउनुपर्नेछ । तर यदि तपाई अविवाहित हुनुहन्छ र एक वर्षमा २० लाखभन्दा बढी कमाउनुहुन्छ भने ७ लाखदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्नुपर्नेछ।

उदाहरणका लागि, २५ लाख कमाई गर्नेले २० लाखवापतको ४ लाख ४४ हजार र त्यसपछिको ५ लाखमा ३६ प्रतिशतले १ लाख ८० हजार गरी ६ लाख २४ हजार कर सरकारलाई तिर्नुपर्नेछ । यो त भयो अविवाहितको हकमा लागु हुने वार्षिक आयकर ।

विवाहितले समेत यसैगरी सरकारलाई कर तिर्नुपर्ने हुन्छ । अविवाहितभन्दा विवाहितलाई आयकरमा तुलनात्मरुपमा खुकुलो व्यवस्था गरिएको छ ।

विवाहित व्यक्तिको वार्षिक कमाई ४ लाख ५० हजार रुपैयाँ वा सोभन्दा कम छ भने कुल कमाईको १ प्रतिशत कर तिर्नुपर्नेछ । अर्थात वार्षिक ४ लाख ५० हजार कमाउने विवाहित व्यक्तिले वर्षमा ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसैगरी वर्षमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म कमाउनेले ४ लाख ५० हजारसम्मको १ प्रतिशतले ४ हजार ५ सय र थप १ ल‍ाखको १ प्रतिशतले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ ।

५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा ५ लाख ५० हजारसम्मको १४ हजार ५ सय र थप २ लाखको २० प्रतिशतले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ करवापतको रकम सरकारलाई बुझाउनुपर्नेछ । ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा वार्षिक कमाउने व्यक्तिले ७ लाख ५० हजारसम्मको ५४ हजार ५ सय र त्यसपछिको रकममा थप ३० प्रतिशतका दरले कर बुझाउनुपर्नेछ ।

यसको अर्थ तँपाई विवाहित हुनुहुन्छ र तपाइको वार्षिक कमाई २० लाख रुपैयाँ छ भने ७ लाख ५० हजारसम्मको ५४ हजार ५ सय र त्यसपछिको १२ लाख ५० हजारको ३० प्रतिशतले ३ लाख ७५ हजार गरी जम्मा ४ लाख २९ हजार ५ सय रुपैयाँसम्म कर सरकारलाई तिर्नुपर्नेछ ।

२० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्नेछ ।

उदाहरणका लागि तपाई विवाहित हुनुहुन्छ र वार्षिक २५ लाख कमाउनुहुन्छ भने तपाइले २० लाख रुपैयाँवापतको ४ लाख २९ हजार ५ सय रुपैयाँ र त्यसपछिको ५ लाखमा ३६ प्रतिशतले १ लाख ८० हजार गरी ६ लाख ९ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ का आधारमा सरकारले कर लिँदै आएको छ । प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र सो वर्षको आय विवरण बुझाइ त्यसका आधारमा कर तिर्नुपर्ने हुन्छ । जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारवाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *