खेलकूद

विश्वकप फूटबल छनोट खेलमा नेपाल समूह ‘बी’मा

हिमालय टिभी
२०७६ साउन १ गते ११:१७
विश्वकप फूटबल छनोट खेलमा नेपाल समूह ‘बी’मा

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फूटबलको दोस्रो चरणको छनोटमा नेपाल समूह बीमा परेको छ ।

प्रारम्भिक चरण नखेली सोझै दोस्रो चरणमा स्थान बनाएको नेपालले कुवेतविरुद्धको खेलबाट छनोट अभियान सुरु गर्नेछ । यो खेल सेप्टेम्बर ५ मा नेपालमै हुनेछ ।

होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा नेपालले कुल आठ खेल खेल्नेछ । फिफाको क्यालेन्डर अनुसार दोस्रो चरणका खेल आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन ९ तारिखसम्म हुनेछन् ।

दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह बीमा नेपालले अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतको सामना गर्ने छ ।

क्वालालम्पुरमा आज सार्वजनिक खेल तालिकाको समूह एमा चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स र गुआम छन् ।

यस्तै समूह सीमा इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया छन् । यस्तै समूह डीमा साउदी अरेबिया, उज्वेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर छन् ।

यस्तै समूह ईमा बंगलादेश, ओमान, भारत, अफगानिस्तान र कतारबीच प्रतिस्पर्धा हुनेछ । समूह एफमा जापान, कीर्गिस्तान, ताजिकिस्तान, म्यानमार र मंगोलियाले एक अर्काको सामना गर्नेछन । समूह जीमा युएई, भियतनाम, थाइल्याण्ड, मलेसिया र इण्डोनेसिया छन् । समूह एफमा दक्षिण कोरिया, लेवनान, उत्तर कोरिया, तुर्कमेनिस्तान र श्रीलंका भीड्नेछन ।

दोस्रो चरणको छनोटबाट १२ टिम अन्तिम चरणमा जानेछन । जसमा समूह विजेता र उत्कृष्ट चार उपविजेता २०२३ को एसियन कपमा पनि छनौट हुनेछ । एसियाली वरियतामा शीर्ष ३४ भित्र परेपछि नेपालले पहिलोपटक सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्