समाज

चिकित्सकहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा सर्पदंशबाट यसरी बच्न सकिन्छ

हिमालय टिभी
२०७६ असार ३१ गते १०:०९
चिकित्सकहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा सर्पदंशबाट यसरी बच्न सकिन्छ

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा अन्य रोगको महामारीसँगै सर्पदंशको जोखिम बढ्दो छ । बाढीले सर्पको विभिन्न दुलो पुरिएपछि सर्पहरु बाहिर निस्कन थालेका छन् । जसले गर्दा सर्पदंशको जोखिम बढाएको छ । सर्पले डसे पनि समयमै सजगता अपनाइए यसबाट बच्न सकिन्छ ।

बाढीले मान्छेसँगै सर्पको बासस्थान पनि नष्ट गरेको छ । त्यसैले सर्प बाहिर निस्कन थालेकाले बाढी प्रभावित क्षेत्रमा सर्पदंशको जोखिम बढेको छ । कतिपय जिल्लामा त सर्पदंशका विरामी बढिरहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष सर्पदंशका कारण २० जनाको मृत्यु भएको थियो भने ५ हजार ६ सय विरामी भए । यो आर्थिक वर्ष बाढी अघिसम्म सर्पदंशबाट तीन जनाले ज्यान गुमाएका छन ।

सबै सर्प विषालु हुँदैनन् । विज्ञका अनुसार करेत, गोमन सर्प मात्र विषालु हुने र सर्प अनुसारको विष पनि फरक हुने गर्छ । तराई मधेशमा यिनैको जोखिम छ । सर्पले डसेमा डसेको ठाउँमा चुस्ने, काट्ने जस्ता उपाय गाउँ–घरमा अहिले पनि चलिरहेको छ । तर सर्पले डसी हाले ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ ।

मुलुकभर अहिले ८२ वटा सर्पदंश उपचार केन्द्र छन् । ती सबै केन्द्रमा आवश्यक पर्ने औषधि पर्याप्त रुपमा मौज्दात रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा विषालु सर्पको बिगबिगी बढ्ने भएकाले पनि अनावश्यक रुपमा बेलुकी बाहिर ननिस्कन चिकित्सकको सुझाव छ । निस्कनै परे टर्चलाइट र लठ्ठी लिएर हिंड्नु राम्रो हुन्छ ।

विषालु सर्पको बिगबिगी हुने तराई क्षेत्रमा बाढीका कारण बढेको सर्पदंशको जोखिम न्यूनिकरणका लागि सजगता अपनाउनुको विकल्प छैन । बेलैमा सावधानी अपनाइए सर्पद‌ंशको जोखिम र यसबाट हुने मानवीय क्षति घटाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्