आर्थिक

दैलेखमा चिनियाँ टोलीबाट ग्याँस उत्खननका लागि प्रक्रिया सुरु

हिमालय टिभी
२०७६ असार २४ गते ७:५३
दैलेखमा चिनियाँ टोलीबाट ग्याँस उत्खननका लागि प्रक्रिया सुरु

दैलेख । चिनियाँ टोलीले दैलेखमा ग्याँस उत्खननका लागि प्रक्रिया शुरु गरेको छ ।

केही वर्षयता चिनियाँ टोलीले दैलेख पुगेर ग्याँसका विषयमा अनुसन्धान गरिरहेको छ । दैलेखका विभिन्न स्थानमा निरन्तर बलिरहने दीप छन् । स्थानीय यस्ता दीप बल्नुमा दैवी शक्तिको चमत्कार मान्छन । उनीहरु पेट्रोलियम पदार्थको उत्खननबाट मुलुकलाई ठुलो फाइदा हुने आशामा छन् । तर यसो गर्दा धार्मिक महत्व घट्ने हो कि भन्ने चिन्ता पनि छ ।

दैलेखका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका क्षेत्रमा अखण्ड दीप बलिरहन्छन । यी ज्वालालाइ स्थानीयले धार्मिक आस्थाका रुपमा पुजा गर्दै आएका छन् । सरकारले प्राकृतिक ग्यासको अन्वेषण थालेपछि स्थानीयले चासोका साथ हेरिरहेका छन् ।

खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चीनको जियोलोजिकल सर्भेको टोलीले दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गरेको छ । यी क्षेत्रका बासिन्दा प्राकृतिक ग्याँस उत्खनन् भए विकास र ठूलो आर्थिक लाभ हुने आशामा उत्साहित छन् । तर उनीहरु अन्वेषणपछि यहाँको धार्मिक महत्व हराउने हो कि भन्ने चिन्तामा पनि छन् ।

धार्मिक हिसावले दैलेखका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोशी प्रख्यात छन् । यस क्षेत्रमा ज्वालाघर, कालभैरवकालसैनी, बटुकभैरव, शिव लिंग, धर्मशाला छन । ज्वालाघरमा निरन्तर बलिरहने ज्वालालाई भगवानको रूपमा पुजिँदै आएको छ । तर, यी दीप कुनै दैविक चमत्कार नभएर प्राकृतिक ग्याँस रहेको पुष्टि भइसकेको छ । पेट्रोलियम ग्याँस निकाल्न सके यस क्षेत्रको विकास र समृद्धिमा टेवा पुग्नेमा भने आफूहरु विश्वस्त रहेको श्रीस्थान ज्वाला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवराज थापाले बताउनुभयो ।

पेट्रोलियम पदार्थको सम्भावना रहेको बताइए पनि विस्तृत अनुसन्धान भने हुन सकेको थिएन । पञ्चकोशीको ग्याँस उत्खनन गर्न सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने भन्दै प्रदेश सांसद सुशीलकुमार थापाले उत्साह व्यक्त गर्नुभयो ।

भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच फेब्रुअरी २८ मा ग्याँस अन्वेषणबारे सम्झौता भएको छ । चिनियाँ सरकारको सहयोगमा अध्ययन पनि सुरु भइसकेको छ । चिनियाँ टोलीले दैलेख लगायतका केही स्थानमा पुगेर नमूना संकलन गरिसकेको छ । अब चीनबाट त्यसको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
सुर्खेतबाट रमेश कुमार पाण्डेको रिपोर्ट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *