आर्थिक

समयमा रोपाई हुन सकेन, यो वर्ष धान उत्पादन घट्ने अनुमान

हिमालय टिभी
२०७६ असार २४ गते ७:४६
समयमा रोपाई हुन सकेन, यो वर्ष धान उत्पादन घट्ने अनुमान

काठमाडौं । यो वर्ष मुख्य बाली धानको उत्पादन घट्ने देखिएको छ । सिंचाई र मल अभाव तथा समयमा पानी नपरेका कारण यो वर्ष धान उत्पादन घट्न सक्ने आँकलन गरिएको हो ।

असार २२ गतेसम्म देशभर जम्मा २३ दशमलव ७६ प्रतिशत मात्र धान रोपाई भएको छ । गत वर्ष यही समयमा झण्डै ५३ प्रतिशत रोपाई सकिएको थियो ।

कृषि मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार सबैभन्दा धेरै उच्च पहाडमा ३५ प्रतिशत, पहाडमा ३१ र धानको अन्न भण्डार मानिने तराईमा २१ प्रतिशत मात्र रोपाई सकिएको छ ।

रसायनिक मलको उपलव्धता, उन्नत विउविजन, कृषि प्रविधिमा आएको सुधार र अनुकुल वर्षाका कारण गत वर्ष झण्डै ९ प्रतिशतले बढेर अहिलेसम्मकै बढी ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले बताएको थियो । तैपनि धान खरिदमा झण्डै २५ अर्ब नेपाली रुपैयाँ विदेशिएको तथ्यांक छ । यो वर्ष कम्तिमा ५ प्रतिशतले धान उत्पादन घट्न सक्ने कृषि मन्त्रालयको अनुमान छ ।

नेपालको आर्थिक वृद्धिको कूल ग्रार्हस्थ उत्पादनमा एक चौथाइ हिस्सा धान हुने गरेको छ। मनाङ्ग र मुस्ताङ्गबाहेक नेपालका सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलन ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *