प्रदेश ३

मोष्टवाण्टेड सूचीमा रहेका खान काठमाडौंबाट पक्राउ

हिमालय टिभी
२०७६ असार २१ गते ८:४४
मोष्टवाण्टेड सूचीमा रहेका खान काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीको मोष्टवाण्टेड सूचीमा रहेका फरार अभियुक्त नसिम खान पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सीआईबीको टोलीले उनलाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।

२०७४ फागुन ३ मा मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरी फरार रहेका खानलाई कपिलवस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार राति पक्राउ गरेको हो।

तीन वर्षदेखि फरार अभियुक्त खानलाई पक्राउ गरेको सीआईबीका प्रमुख नीरज शाहीले बताउनुभयो । कपिलवस्तु प्रहरीको मोष्टवाण्टेड सूचीमा रहेका नसिम १० दिनदेखि काठमाडौंमा बस्दै आएका थिए। पक्राउ परेका खानलाई आज नै कपिलवस्तु पठाइएको सीआईबीले जनाएको छ ।

द्दन्द्दकालमा प्रतिकार समूह बनाएर खानले तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार र शिवपूजन कुर्मीका हत्या गरेको आरोप छ ।

उनीमाथि ८ जनाको हत्याको आरोपमा मुद्दा छ । तराई–मुक्ति मोर्चाको कौटिल्य समूहमा आवद्ध खान हतियार बुझाएर सार्वजनिक भएका थिए । त्यसपछि उनी तीन वर्ष अगाडि एक सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

त्यहाँबाट उनी प्रहरीकै अगाडिबाट भागेका थिए । तर, खानलाई राजनीतिक संरक्षण दिइएको र पक्राउ नगरेको भन्दै कपिलवस्तु प्रशासनको आलोचना हुँदै आएको थियो । प्रहरीमा किटानी जाहेरी परेपछि उनी भारतको सीमावर्ती सहर अलिगढवामा बस्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *