समाज

आर्थिक चलखेलको आशंकापछि ठेक्का नै रद्ध

हिमालय टिभी
२०७६ असार १९ गते १२:१५
आर्थिक चलखेलको आशंकापछि ठेक्का नै रद्ध

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न शिर्षकमा आव्हान गरेको ठेक्का रद्ध गरेको छ ।

आर्थिक चलखेल गरेर एउटा कम्पनीको मात्रै टेन्डर पारिएको विवादका बिच महानगरले ठेक्का नै रद्ध गरेको हो । टेन्डरमा सहभागी कम्पनीले भने वडा अध्यक्षले रकम माग गर्दा नदिएकाले ठेक्का रद्ध गरिएको दाबी गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको बोर्ड बैठकले आर्थिक वर्ष ०७६/०७७ का लागि जेठ ११ गते विभिन्न शिर्षकमा राजस्व संकलनका लागि बोलपत्र आव्हान गरेको थियो । तर प्रक्रिया सकिएपछि महानगरको बोर्ड बैडकले ठेक्का नै खारेज गर्ने निर्णय गरेको छ ।

विज्ञापन करवाहेक अन्य सबै शिर्षकमा मोना कन्ष्ट्रक्शनको एकल टेण्डर परेपछि आर्थिक चलखेलको आशंका गरिएको थियो । मोनासँग रकम खाएर अन्य ठेकेदार टेन्डरमा सहभागी नभएको आरोपका बिच महानगर ठेक्का रद्ध गर्ने निर्णयमा पुगेको हो ।

महानगर हुनका लागि वार्षिक १ अर्ब आम्दानी भएको हुनुपर्ने मापदण्ड छ । तर वीरगञ्ज महानगरको आन्तरिक आय ३० करोडको हाराहारीमा मात्र छ । पुन ठेक्का लगाउँदा एक महिना ढिला हुने भएकाले यो आम्दानी अझ कम हुने देखिएको छ । ठेक्का परेका कम्पनीका संचालक रामाकान्त चौरसिया भने आफुले आर्थिक चलखेल नगरेको बताइरहेका छन् । बरु वडा अध्यक्षले रकम माग गर्दा नदिएकाले ठेक्का खारेज भएको उनको आरोप छ ।

त्यसो त ठेक्का फिक्सिङ्ग गरेको आरोप चौरसियालाई नै लागेको छ । उनले यसका लागि करोडौं रकम खर्च गरेको चर्चा छ । केही वडाध्यक्षले रकम माग गरेको ठेकेदार पक्षको आरोप पनि गम्भीर छ । आर्थिक वर्षको अन्त्यमा यसरी करोडौं रुपैयाँको ठेक्कामा विवाद हुँदा महानगरलाई ठुलो नोक्सानी हुने निश्चित भएको छ ।
केसी लामिछाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्